बेलायती राजकुमारीले भनिन्: क्यान्सरमुक्त हुन मैले हरसम्भव प्रयास गरिरहेकी छु !



‘मैले केमोथेरापी गरिसकेकी छु । तर मेरो उपचार वा पूर्ण रुपमा निको हुने यात्रा लामो छ ।’

एजेन्सी । बेलायती राजकुमारी क्याथरिन (केट) यतिबेला क्यान्सरको उपचारमा व्यस्त छिन् । हालै उनले केमोथेरापी गरेपछि आफू क्यान्सरबाट मुक्त हुनका लागि हरसम्भव प्रयत्न गरिरहेको प्रतिक्रिया दिएकी छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार क्याथरिनले जीवनको आशा र नयाँ भावनासहित रिकभरीको नयाँ चरणमा रहेको जानकारी दिएकी छन् । र उनी अर्को महिना सार्वजनिक जीवनमा फर्किने पनि बताइएको छ ।

राजकुमारी केटले आफूलाई क्यान्सर भएको कुरा गत मार्चमा सार्वजनिक गरेकी थिइन् । यही सोमबार भने उनले एक व्यक्तिगत भिडियोमार्फत् जीवनप्रति आशा र नयाँ भावनासहित स्वास्थ्यलाभ गरिरहेको बताएकी हुन् । सोही भिडियो मार्फत् आफू रिकभरीको नयाँ चरणमा रहेको पनि जानकारी दिएकी छन् ।

४२ वर्षीया केट क्यान्सर पुष्टि भएपछि जम्मा २ वटा सार्वजनिक समारोहमा उपस्थित भएकी छन् । उपचारपछि केटले आफूलाई केमोथेरापीले असाध्यै राहत मिलेको पनि प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्,’म तपाइँलाई भन्न सक्दिनँ कि केमोथेरापीपछि म कति धेरै राहत महसुस गरिरहेकी छु ।’

बेलायती राजसंस्थाका उत्तराधिकारी प्रिन्स विलियमको पत्नी केटले आफू हाल क्यान्सरमुक्त हुनका लागि सकेसम्म प्रयत्न गरिरहेको पनि बताएकी छन् । र यसमै आफू अहिले केन्द्रित रहेको उनको भनाइ छ । ‘क्यान्सरमुक्त हुनका लागि मैले हरसम्भव प्रयत्न गरिरहेकी छु । मेरो ध्यान यसैमा छ,’ केटले भनेकी छन्, ‘यद्यपि मैले केमोथेरापी गरिसकेकी छु । तर मेरो उपचार वा पूर्ण रुपमा निको हुने यात्रा लामो छ । र मैले हरेक दिनलाई यसैतर्फ लैजानु पर्नेछ ।’

भिडियो सन्देशमा केटले आफ्ना पति विलियम र तीन सन्तानहरु जंगलमा हिँडिरहेको दृश्य पनि देखाएकी छन् । जहाँ उनीहरु खेलिरहेका पनि देखिन्छन् ।

यस्तै उनले आफ्नो परिवारका लागि कम्तीमा ९ महिना निकै कठिन भएको भिडियो सन्देशमा बताएकी छन् । उनले आफू आफ्नो नियमित काममा फर्किन चाहेको पनि बताएकी छन् ।

बेलायती राजा चार्ल्स तृतीयले गत फेब्रुअरीमा आफूलाई क्यान्सर भएको सार्वजनिक गरेको केही हप्तामै मार्चमा केटलाई पनि क्यान्सर भएको पुष्टि भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार केटले सर्जरीपछि प्रिभेन्टिभ केमोथेरापी गराएकी थिइन् । जवकि अमेरिकी चिकित्सक तथा विज्ञ डा करेन नुडसनले यस्तो प्रकृतिको केमोथेरापी प्रायजसो सहायक चिकित्साको रुपमा मात्रै लिने गरिन्छ । जवकि क्यान्सरबाट मुक्त हुने सम्भावना कम हुने गर्छ । गत जुनमा भने केटले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र केही महिनासम्म उपचार जारी रहने प्रतिक्रिया दिएकी थिइन् ।


क्लिकमान्डु