चिनियाँ ब्रान्ड चेरी अब बेलायतमा पनि उत्पादन हुने
एजेन्सी । चिनियाँ कार कम्पनी चेरीले अब बेलायतमा पनि कार उत्पादन गर्ने तयारी गरेको छ । बेलायतस्थित चेरीका प्रमुख भिक्टर झाङले यसबारे कम्पनीले अब छिट्टै निर्णय गर्ने बताएका हुन् । भिक्टरले समय अनुसार कम्पनी यस्तो निर्णयमा पुगेको बताए ।
चेरीले यसअघि स्पेनमा पनि कार बनाउने तयारी गरेको छ । १९९७ मा स्थापना भएको चेरी कम्पनी चीनको सबैभन्दा ठूलो कार उत्पादाक कम्पनी हो । यो चीनको सबैभन्दा ठूलो सवारी निर्यातकर्ता पनि हो । पछिल्लो समय यो कम्पनीले आफ्नो बजारलाई विस्तार गर्ने तयारी गरिरहेको छ।
सोही अनुरुप कम्पनीले पछिल्लो समय दुई नयाँ ब्रान्ड ओमोडा र जाइकोलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गरिरहेको छ । गत महिना बेलायतमा औपचारिक रुपमा ओमोडा स्थापना गरेको थियो । जुन ब्रान्डलाई ईभी र पेट्रोल दुबैमा वितरण सुरु गरिसकेको छ ।
यस्तै यसको ६० वटा डिलरसिप नेटवर्क स्थापना भएको छ । र यस वर्षको अन्त्यसम्म १ सय वटा डिलरसिप स्थापना गर्ने लक्ष्य राखिएको छ । यसवाहेक ईभीमा टेस्लासँग प्रतिस्पर्धा गरिरहेको सर्वाधिक ईभी उत्पादक चिनियाँ बीवाईडीले पनि बेलायतमा दर्जनौं डिलर खोलिसकेको छ ।