जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब प्रत्येक शुक्रबार मात्र उडान भरिने



तुलसीपुर (दाङ) । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले बताए।

निगमको एउटा जहाज ‘ग्राउन्डेड’ भएकाले शुक्रबारमात्र उडान भर्ने नीति लिएको उहाँले जानकारी दिए । ‘हप्तामा सात दिन चलाउने कुरा हो, तर अहिले निगमसँग एउटा मात्र जहाज छ, एउटा जहाज ग्राउन्डेड छ’, उनले भने, ‘त्यसले गर्दा पनि अहिले केही समय हप्ताको शुक्रबार मात्र चलाउने कुरा छ ।’

अहिले प्रत्येक शुक्रबार दिउँसो १२:०० बजे टरिगाउँ आउने र १२:० मा फर्किने उनले बताए । दाङबाट काठमाडौँ जाँदा सात हजार एक सय भाडा लाग्छ भने काठमाडौँबाट दाङ आउँदा सात हजार दुई सय ५० भाडा लाग्ने उनले बताए ।

अहिले दाङबाट काठमाडौँ जानका लागि यात्री नपाउने अवस्था रहेको छ । जहाज नियमित नहुँदा पनि यात्री भैरहवा वा नेपालगञ्ज जाने गरेको भन्दै नियमित भएमा यो समस्या नहुने उनको भनाइ छ ।

यसअघिको शुक्रबार दाङबाट काठमाडौँ जाँदा एकजना मात्र यात्री थिए । टरिगाउँ विमानस्थलमा पछिल्लो समय जहाज सेवा अनियमित भएको थियो । केही महिना जहाज नै आएन, तर अब त्यसो नहुने प्रमुख सुनारले बताए ।

उक्त विमानस्थलाई नियमित बनाउन पटक–पटक आवाज उठ्ने गरेको छ । तर पनि नियमित हुनसकेको छैन । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । सात सय ५० मिटर लम्बाइ रहेको धावनमार्ग हुँदा अहिले १९ सिटे जहाज मात्र बस्ने गरेका छन् । यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिट जहाज बस्ने र सेवा नियमित हुने अपेक्षा गरिएको छ।


क्लिकमान्डु