पर्यटन बोर्डले आज सीईओ पाउने, कसले मार्ला बाजी ?



काठमाडौं । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिको बैठक आज (विहीबार) साँझ ५ बजेका लागि बोलाइएको छ । बोर्डको बैठकको प्रमुख एजेण्डा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गर्ने छ ।

पर्यटन बोर्डमा गत माघ १६ गतेदेखि रिक्त सीईओ नियुक्त गर्न बोर्डमा आजै प्रस्ताव जाँदै छ । बोर्डमा सीईओ छनोट सिफारि गर्नकै निमित्त पर्यटन बोर्ड सञ्चालक समितिले उपसमिति बनाएको थियो । उक्त सीईओ छनोट उपसमितिले गत चैत २४ गते मागेको खुला आवेदनबाट सीईओका लागि योग्य उमेदवारमध्ये उत्कृष्ट ३ जनाको नाम छनोट गरेको छ । बोर्डका सदस्यद्वय मिलन देवकोटा, मदन आचार्य र पर्यटन मन्त्रालयकी सहसचिव इन्दु घिमिरेको एक टोलीले बोर्डको सीईओ छनोट गर्न तीन जनाको नाम छनोट गरेको हो ।

उपसमितिले सोमबार प्रस्तुतीकरण र मंगलबार अन्तरवार्ता लिएर बुधबार उत्कृष्ट ३ जनाको नाम छनोट गरेको छ । उपसमितिले विहीबार पर्यटन बोर्ड सञ्चालक समितिको बैठकमा छनोट भएका तीन जनाको नाम पेश गर्ने छ । यीमध्ये बोर्डले एक जनालाई आगामी ४ वर्षको लागि सीईओ नियुक्त गर्ने भएको छ ।

स्रोतका अनुसार बोर्डको सीईओको लागि बोर्डकै कर्मचारी श्रद्धा श्रेष्ठ, हिक्तसिंह ऐर, लक्ष्मण गौतम र पूर्व सीईओ दीपकराज जोशीमध्ये तीन जनाको नाम सिफारिश भएको छ । यद्यपी सिफारिश समितिले गोप्य शिलबन्दी गरेर दिएको हुँदा बोर्डका पूर्व सीईओ डा.धनन्जय रेग्मी र यस अघि पनि सीईओ छनोट समितिको उत्कृष्ट तीनमा पर्न सफल भएका दीपक बस्ताकोटीको समेत नाम परेको हुनसक्ने अनुमान गरिएको छ ।

सीईओ छनोट उपसमितिले सिफारिश गरेको नाम साँझ ५ बजे पर्यटन बोर्ड सञ्चालक समितिकै बैठकमा पेश हुने भएकोले को को परे र कसले बाजी मार्छ भन्ने विषयमा अहिले नै एकीन भने गर्न भने सकिदैन् ।

यद्यपी बोर्डको सीईओमा ठाकुरप्रसाद देवकोटा, विजय नेपाल, राजाराम गिरी, ज्ञानिन राई, नवीन पोखरेल, ज्ञानेश्वरप्रसाद सिंह महतोले बोर्डको सीईओमा आवेदन दिएका सूर्यबहादुर घिमिरे, सन्तोषविक्रम थापाले समेत प्रतिस्पर्धाम गरेका छन।


क्लिकमान्डु