निर्माण व्यवसायीको लापरबाहीले सीतापुर-पकरीदेखि-डलवासम्मको सडकखण्ड अधुरै



राजविराज (सप्तरी) । ठेकेदार कम्पनीको लापरवाहीका कारण सप्तरीको सीतापुरदेखि पकरी–डलवासम्मको सडकखण्ड निर्माणको काम अलपत्र अवस्थामा छ ।

मधेस प्रदेश सरकारअन्तर्गतको यो सडकको निर्माणको ठेक्का रमन–आइएसएनबी जेबी जनकपुरधाम धनुषालाई दिइएको छ तर तोकिएको समय सकिँदा पनि सितापुरदेखि पकरीसम्म सात किलोमिटर र पकरीदेखि महादेवा गाउँपालिकाको कजोलीसम्म छ किमी बाटो निर्माण सम्पन्न हुन सकिएको छैन ।

निर्माण कम्पनीसँग २०७८ चैत ७ गते ३१ करोड २४ लाख आठ हजार तीन सय २४ (भ्याट बाहेक) मा २०८० चैत ८ गतेसम्म सडक निर्माण गरिसक्ने सम्झौता भएको थियो । सोअनुसारको समय बित्दासमेत सडकखण्डअन्तर्गत महादेवा गाउँपालिका–१ को पकरी, सोनरालगायत स्थानमा ग्राभेल हाल्ने काम मात्र भएको वडाध्यक्ष जयश्वरकिशोर दासले बताए ।

सडक निर्माणको काम सम्पन्न नहुँदा स्थानीयलाई आवतजावतमा निकै समस्या भएको उनले बताए । ‘सडक नबन्दा यहाँ एम्बुलेन्ससमेत जान नसक्दा बिरामीलाई बोकेर हुलाकी राजमार्गसम्म पुर्‍याउनुपर्ने बाध्यता छ । त्यसैले सम्बन्धित निकायले सडक निर्माण ध्यान दिन आवश्यक छ’, उनले भने,’ठेकेदार कम्पनीले यहाँका बस्ती क्षेत्रमा ढलान सडक बनाउन र अन्य ठाउँमा कालोपत्र गर्ने गरी सम्झौता गरेको छ तर सम्झौतानुसार ५० प्रतिशत पनि काम हुन सकिएको छैन ।’


क्लिकमान्डु