दुई छोरीलाई विष खुवाएर आफूले पनि पिएकी थिइन्, ५ दिनपछि पक्राउ परिन् आमा



धनकुटा । मोरङको सुन्दरहरैचामा दुई नाबालिका छोरी अंगालोबेरेर मृत फेला परेको घटनामा आमा पक्राउ परेकी छन् ।

मोरङको सुन्दरहरैचा-७ बाट शनिवारदेखि बेपत्ता भएकी अस्मितालाई बुधबार विहान झापाबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

सुन्दरहरैचा नगरपालिका-७ स्थित केराघारीभित्र तीन र एक वर्षीया नाबालिका मृत फेला परेका थिए । मृत्यु हुनेमा धनकुटाको पाख्रिबास नगरपालिका-४ डिकुरेका अर्जुन कार्कीका ३ वर्षीया छोरी आइका र १ वर्षीया अर्पणा रहेका छन् ।

मोरङ प्रहरीका अनुसार अस्मिताले समेत छोरीलाई प्रयोग गरेको विष आफूले सेवन गरेको पाइएको छ । उनी मानसिक रुपमा विक्षिप्त र शारिरीक रुपमा अस्वस्थ्य रहेको पाइएको छ ।

पहिले आफूले विष सेवन गरेर सोही विष छोरीहरूलाई खुवाएको पाइएको प्रहरीको भनाइ छ । विष सेवन गराइएका दुई छोरीहरूको मृत्यु भएको थियो भने उनी त्यहाँबाट बेपत्ता भएकी थिइन् । पाँच दिनपछि उनको जिवितै उद्धार गरिएको हो । प्रहरीले अस्मितालाई अस्पतालमा उपचार गराइरहेको छ ।

उनी श्रीमानसँग विवाद भएपछि दुई छोरी लिएर घरबाट बाहिरिएकी थिइन् । शुक्रबार बेलुकी साढे ६ बजे घरबाट उनी हिँडेकी थिइन् ।

अस्मिताका श्रीमान् अर्जुन परिवारका साथ सुन्दरहरैचा-७ स्थित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । घर निर्माण भइरहेको कारण उनी र उनको परिवार दिदीको घरमा रहेका थिए । घरमा पानी नहालेको विषयमा श्रीमतीसँग उनको विवाद भएको बताइएको छ ।


क्लिकमान्डु