औषधी उद्योग मिरा बायोटेकले आईपीओ जारी गर्ने



काठमाडौं । मिरा बायोटेक लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । त्यसका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौतापत्रमा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेक लिमिटेडका अध्यक्ष डा. विनोद साहबिच हस्ताक्षर गरे । दक्षिण कोरियाको ईयुबायोलोजिक्स कम्पनी लिमिटेड (ईयूबी) सँगको सहकार्यमा अत्याधुनिक प्लान्टमार्फत औषधी तथा भ्याक्सिन उत्पादन गरिरहेको मिरा बायोटेकले सम्पन्न साधारणसभामार्फत कम्पनीलाई प्राईभेटबाट पब्लिक कम्पनीमा परिवर्तन गर्ने निर्णय गरिसकेको छ ।

यो सँगै यस कम्पनीले २० प्रतिशत सेयर आम सर्वसाधारणलाई बिक्री गर्ने योजना बनाएको छ । नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सकहरु र फर्मा बैज्ञानिकहरुको पहलमा स्थापित मिरा बायोटेक अन्तराष्टियस्तरको क्रोनिक सेगमेन्टका औषधीहरु उत्पादन गर्ने कम्पनी हो ।

हाल यस कम्पनीले करिब २ दर्जन ब्राण्डका औषधी उत्पादन गरिरहेको छ । यसबाहेक यसले भ्याक्सिन उत्पादनका लागि पनि काम गरिरहेको कम्पनीका सिईओ सुशिल पौडेलले जानकारी दिए ।

हाल ५२ करोड चुक्तापुँजी रहेको यस कम्पनीले चुक्तापुँजी बृद्धि गर्दैछ । पुँजीबृद्धिपछी यस कम्पनीले आईपिओ निष्काशन गर्ने भएको हो । सोका लागि एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको हो ।

एलिट क्यापिटलले एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजना अन्तरर्गत स्टार्टअपदेखि पुराना कम्पनीहरुलाई समेत पव्लिक कम्पनीमा रुपान्तरण, पुंजीबृद्धी र व्यवशायीक प्रबद्र्धनमा परामर्श सेवा दिँदै आइरहेको छ ।

मिरा बायोटेकलाई पनि आईपिओ निष्काशन अगाडी पुँजीबृद्धि, ब्राण्डिङ र बजारीकरणका लागि वित्तिय व्यवस्थापकिय कार्यमा समेत परामर्श सेवा प्रदान गर्ने जनाएको छ । यसबाहेक आईपिओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्ने सम्झौतामा उल्लेख छ ।

भक्तपुरका चागुनारायणमा आफ्नै जग्गा र भवनमा मिरा बायोटेकको अत्याधुनिक प्लान्ट स्थापना गरिएको छ । यसले औषधि व्यवस्था विभागबाट ३० वटा उत्पादनको बजार लाइसेन्स लिएको छ ।

ईयूबीले मीरा बायोटेकलाई विश्व स्वास्थ्य संगठन कुशल उत्पादन प्रक्रिया (डब्लुएचओ जीएमपी( प्लान्ट डिजाइन, उत्पादन, र जीएमपी अनुसार प्रमाणीकरणका लागि प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । इयूबी सँगको आबद्धताले गर्दा, मीराले आफ्नो उत्पादनका अधिकांश उपकरणहरु दक्षिण कोरियाबाट खरिद गरेको छ ।


क्लिकमान्डु