प्रधानमन्त्रीसँग बालेन समर्थक रिसाउँदा ५८ हजार जनाले गरे केपी ओलीलाई ‘अनफलो’



काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो संख्यामा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘अनफलो’ गरेका छन् ।

६ लाख ६२ हजार जनाले केपी शर्मा ओलीको फेसबुकलाई फलो गरेकोमा मंगलबार दिउँसोबाट अनफलो गर्नेको संख्या बढेको हो । बुधबार बिहान ६ बजेसम्म ओलीको फेसबुक पेजमा फलोअर्स ६ लाख ४ हजारमा झरेको छ । हिजो दिउँसोबाट अहिले बिहान सम्ममा अहिलेसम्म ५८ हजार जनाले ओलीको फेसबुकलाई अनफलो गरेका हुन् ।

किन भयो यस्तो ?

केही दिनयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेखिरहेका छन् ।

एमाले प्रदेश सभा सदस्यको घरबाट बालिकाको उद्धारको विषयमा बालेन र एमाले कार्यकर्ता र ओलीविरुद्ध आक्रमक बनिरहँदा एमाले कार्यकर्ता पनि बालेनविरुद्ध आक्रामक बनेका छन् ।

बालेनले सोमबार सामाजिक सञ्जालमा राखेको स्टाटस आज हटाइएको छ ।

गत आइतबार मेयर बालेनले नेकपा (एमाले)की लुम्बिनी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको दाबीसहित फेसबुकमा एउटा पोस्ट गरेका थिए ।

उनले काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका थिए । सांसद शर्माको विषयमा कुनै कारबाही नभएको बताउँदै उनले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका थिए ।

त्यसपछि एमाले निकटरूले उनको विरोध गरेका थिए । बालेनले झुटो दाबीसहित अनावश्यकरुपमा प्रधानमन्त्रीलाई मुछेको उनीहरूको भनाइ थियो ।

मंगलबार बालेनको उक्त स्टाटस एकाएक फेसबुकबाट गायब भएको थियो । त्यसपछि बालेनले आफ्नो स्टाटस सरकारकै संलग्नतामा हटाइएकोतर्फ संकेत गर्दै एउटा पोस्ट गरेका थिए ।

जसमा बालेनले घुमाउरो रुपमा सरकार अर्थात केपी ओलीको निर्देशनमा भएको आरोप लगाएका छन् । उनले आफूले गल्ती गरेको भए पक्राउ गर्न पनि प्रधानमन्त्री ओलीलाई चुनौती दिएका छन् ।

एमाले कार्यकर्ताहरुले पनि बालेनमाथि आक्रोश पोखिरहेका छन् । कतिपयले बालेनले मदिरा सेवन गर्दै तास खेलिरहेको फोटो समेत राखेर सामाजिक सञ्जालमा बहस गरिरहेका छन् ।

सरकारले बालेनको स्टाटस हटाएको भन्दै बालेन समर्थकहरु ओलीविरुद्ध रिसाएका हुन् । उनका समर्थकले पछिल्लो समय ओली पेजलाई अनफलो गर्ने अभियान नै चलाएका कारण केही घण्टामै ओलीलाई हजारौंको संख्यामा सामाजिक सञ्जालमा फलो गर्नेहरु घटिरहेका छन् ।

यसअघि पनि अन्य नेताहरुको तुलनामा बालेनले ओली लक्षित स्टाटसहरु राख्ने गरेका थिए ।


क्लिकमान्डु