एमसीसीलाई नेपाल मातहत ल्याउने गरि कानून बनाऔं: विप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले अमेरिकी अनुदान सहयोगसम्बन्धि सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई नेपालको मातहत ल्याउने गरी कानून बनाउन सरकारसँग माग गरेका छन् ।

उनले नेपाललाई नवऔपनिवेशिक बनाउने उद्देश्यसहितको सो परियोजनालाई नेपालको संसदले स्वीकार गरेकोको उल्लेख गर्दै अब सरकारले त्यसलाई सम्पूर्ण रुपले नेपाल मातहत ल्याउनेगरी कानून बनाउनुपर्ने माग गरेका हुन् ।

मंगलबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले एमसीसीको परिचालन, अनुगमन र नियन्त्रण सम्पूर्ण रुपमा गर्नेगरी संसदले कानून बनाउनुपर्ने आफ्नो पार्टीको मान्यता रहेको बताए ।

एमसीसी नेपालको हितमा नभए पनि त्यसलाई तत्काल खारेज गर्ने सम्भावना नभएको जिकिर गर्दै महासचिव विप्लवले त्यसलाई कानूनद्वारा नियन्त्रण गर्न नेपालले पहल गर्नुपर्ने बताए ।

‘यसलाई खारेज गर्ने कुरा तत्काल सम्भव दैखिँदैन । हाम्रो भनाइ के छ भने–तत्काल नेपालको संसदले एमसीसीलाई आफ्नो मातहत ल्याउने कानून निर्माण गरोस् ।’ उनले भने, ‘ नेपालको संसदले एउटा यस्तो कानून पास गरोस् । जसले एमसीसीलाई सम्पूर्ण रुपले अनुगमन, नियन्त्रण र परिचालन गर्ने अधिकार राखोस् । त्यो भनेको एउटा कानून संसदबाट होस् भन्ने हाम्रो पार्टीको दृष्टिकोण छ ।’

महासचिव विप्लवले अमेरिकाले आफ्नो सैन्य रणनीति बिस्तार गर्नका लागि एमसीसी लगायतका परियोजनालाई अघि बढाउने गरेकाले त्यसलाई स्वीकार गर्न नसकिने अडान राखे ।


क्लिकमान्डु