एमसीसी अनुगमनको लागि संसदीय समिति बनाउनुपर्छ: नेकपा एस



काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमसीसी परियोजनाको अनुगमनका लागि संसदीय समिति बनाउन माग गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

उनले आफ्नो पार्टी तत्काल एमसीसी अनुगमनको लागि एउटा संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको बताए । नेता भुसालले एमसीसी परियोजना १२ बुँदे व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ वा छैन भनेर अनुगमन गरी नागरिकलाई जानकारी गराउनुपर्ने पनि बताएका थिए ।

संसदले एमसीसी परियोजना सामरिक होइन र नेपालको कानूनअनुसार नै अघि बढ्छ भन्ने विश्वास जनतालाई दिन सक्नुपर्ने उनको भनाइ थियो ।

‘एमसीसी र एसपीपीका बारेमा मैले लामो कुरा गर्दिनँ । अहिले पनि गर्नुपर्ने कुरा एउटा छ । धेरै जरुरी कुरा छ । संसदले त्यत्रो बहस गरेर, छलफल गरेर १२ बुँदे गर्‍यो । त्यो व्याख्यात्मक टिप्पणी गर्‍यो । खासगरी त्यसमा उठेका दुई प्रश्न थिए । हाम्रो संविधानमाथि नै हावी हुन्छ कि हुँदैन भन्ने लगायतका प्रश्न थिए । यो विवादका बीच पारित भएर आएको छ,’ भुसालले भने, ‘यो १२ बुँदे अनुसार नै गर्छ भनेर जनतालाई आश्वस्त, विश्वस्त गराउनुपर्छ कि पर्दैन पार्टीहरुले ? यो स्वयं संसदले पर्छ कि पर्दैन । कि व्याख्यात्मक टिप्पणीका नाममा एउटा काम सकियो अब यसबाट छुट्टि पाइयो । भोलि यसमा विवाद हुन्छ ।’

दलहरु यदि इमानदार भए कम्तीमा एमसीसीमाथि एउटा संसदीय अनुगमन समिति बनाउनुपर्ने उनको भनाइ थियो । र त्यसले व्याख्यात्मक टिप्पणीअनुसार लागू भइरहेको छ कि छैन, त्यसमा भएका समस्या लगायतका विषयमा समितिले अध्ययन गर्ने पनि उनले बताए ।


क्लिकमान्डु