७ वर्षदेखि खाली घरमा भेटियो छोपेर राखेको मानव कंकाल



फाइल तस्बिर

प्युठान । प्युठानको एक घरमा मानव कंकाल भेटिएको छ । माण्डवी गाउँपालिका–२ अधेरीमा रहेको स्थानीय दलबहादुर खत्रीको पुरानो घरमा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।

केही स्थानीय आइतबार बाँदर धपाउन गएको समयमा पानी परेपछि ओतका लागि उक्त घरमा गएका थिए। ओत लागेको समयमा मानव कंकाल देखिएको स्थानीय बताएका छन् ।

कपडाले छोपी, प्लास्टिकले बेरेर ढोकामाथि राखेको अवस्थामा कंकाल भेटिएको प्रहरीले जनाएको छ ।

मानव कंकाल भेटिएको घर विगत सात वर्षदेखि खाली थियो। घटनाको छानबिन तथा अनुसन्धानका लागि प्रहरी परिचालन भइसकेको छ।

सूचना अधिकारी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वर थापाको नेतृत्वमा प्रहरी टोली सोमबार घटनास्थलमा पुगेको हो ।

कंकाललाई प्यूठान अस्पताल लगेर डिएनए प्रोफाइल तथा शव परीक्षण गरिने छ। त्यसपछि रिपोर्टका आधारमा अनुसन्धान सुरू हुने प्रवक्ता केसीको भनाइ छ ।


क्लिकमान्डु