दशैं-तिहारमा खाद्यवस्तुको अभाव नहोस्: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दशैं–तिहारलगायत चाडपर्वका समयमा खाद्यवस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन् ।

मन्त्रालयको वाणिज्य तथा आपूर्तिसँग सम्बन्धित विषयमा आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले खाद्यवस्तुको कृत्रिम अभाव सृजना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने स्पष्ट पारे ।

‘चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ । यस्ता विषयमा कुनै सम्झौता हुँदैन । कुनै भनसुन चल्दैन,’ उनले भने ।

उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरूसहितको छलफलमा प्रधानमन्त्री ओलीले समग्रमा आयात घटाउन, निर्यात बढाउन तथा विषादीयुक्त खाद्यपदार्थ आयात–निर्यात नगर्न आग्रह गरे । उनले नेपालमा फलाम, युरेनियमलगायत खानीजन्य पदार्थको उत्खननको क्रम चले पनि तिनलाई कच्चा पदार्थमा बिक्री वितरण नगरी उद्योग सञ्चालन र सामग्री उत्पादनमा प्राथमिकता दिनुपर्नेमा जोड दिए ।


क्लिकमान्डु