१६ करोड ठग्ने एभरट्रष्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ



काठमाडौं । बचतकर्ताको १६ करोड ठग्ने एभरट्रष्ट बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो। उनीहरुले बचतकर्ताहरुको १५ करोड ९१ लाख ४ हजार ७३६ रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप लागेको छ ।

काठमाडौं महानगरपालिका–७ चुच्चेपाटी रहेको सहकारीका उपाध्यक्ष बबिता डंगोलसहित ५ जना पक्राउ परेका हुन् ।

उपाध्यक्ष बबिता डंगोलका साथै संस्थाका सचिव काठमाडौं महानगरपालिका–५ हाँडीगाँउका कान्छाभाई डंगोल , कोषाध्यक्ष ओखलढुंगा कुन्तादेवी गाँउपालिका–३ का विष्णु प्रसाद फुयाँल, संस्थाका सदस्य ललितपुर महानगरपालिका–८ सुवलाहका रामलाल महर्जन र सहकारीका सदस्य भक्तपुर नगरपालिका–१ का अमरभाई बज्राचार्य रहेका छन् ।

उनीहरुले कर्जा तथा सम्पत्तिहरुमा गैह्रकानुनी रुपमा लगानी गरी संस्थाको वार्षिक प्रतिवेदनहरुमा समेत बास्तविक अवस्था लुकाएको पाइएको छ ।

बचतकर्ताको पैसा व्यक्तिगत लाभको लागि प्रयोग गरी सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याइ, आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाएर ठगेको आरोप उनीहरुमाथि छ ।

५ जनालाई नै काठमाडौंका विभिन्न स्थानबाट भदौ १४ गते पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को दफा २४९ को ठगी सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ८ दिन म्याद थपेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
यो सहकारीबाट कोही पीडित भएमा यथाशिघ्र ब्यूरोमा सम्पर्क गर्न भनिएको छ ।


क्लिकमान्डु