सत्कार सहकारी प्रकरणः नक्कली ऋणी बनाएर नेफ्स्कुन, सहकारी बैंक र कास्कुनलाई नै ठगी

काल्पनिक ऋणीको फाइल बनाएर साढे ८ करोड प्रवाह



काठमाडौं । सत्कार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सहित सञ्चालहरुले बचतकर्ता ठग्ने नयाँ बहाना बनाएको तथ्य फेला परेको छ ।

सहकारीको नाममा बचतकर्ताबाट पैसा उठाएर अध्यक्षको नाममा घर जग्गा जोड्ने, नक्कली ऋणी खडा गरेर नेपाल बचत तथा ऋण सहकारी संघ-नेफ्स्कुन, सहकारी बैंक, काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन)बाट कर्जा लिने, नक्कली ऋण बनाएर कर्जा दिने, सञ्चालकका आफ्न्तलाई जानकारी नै नदिइ पदाधिकारी सञ्चालक राखेर किर्ते गर्ने गरेको पाइएको छ ।

उक्त सहकारीले संस्थाको नाममा २०७७ साल चैत ११ गते सामामुखसीमा १ रोपनी जग्गामा बनेको साढे ५ तले घर पास गरेको थियो । त्यो घर १२ करोडमा खरिद गरिएको थियो । त्यही घर जग्गा धितो राखेर बैंकबाट कर्जा लिइएको हो ।

सहकारीले त्यही घर जग्गा धितो राखेर सहकारी बैंकबाट ९ करोड ऋण लिएको थियो । बाँकी पैसा अन्यत्रबाट मिलाएको संस्थाका सचिव गोविन्द पुरीले बताए ।

उनका अनुसार सहकारी बैंकबाट कर्जा लिएर घर खरिद गर्दा अध्यक्ष सविन उप्रेतीले कमिसन लिएको पाइएको छ । साथै स्वार्थ राखी उक्त घर जग्गा खरिद गर्दा तत्कालीन जग्गाधनी राम नारायण श्रेष्ठलाई घर खरिद गर्ने बाध्यकारी शर्त राखी अध्यक्षको श्रीमती शान्ता कडेरियाको नाममा रहेको बुढानीलकण्ठ नगरपालिका–१० आकाशेधारामा ७ आना जग्गा सट्टापट्टा गरिएको थियो ।

त्यसमा पनि मुनाफा लिँदा सहकारीमा समस्या सुरु भएको पुरीको दाबी छ । त्यो समयमा श्रेष्ठको खाताबाट अध्यक्ष उप्रेतीको खातामा १८ लाख गएको देखिन्छ ।

यसरी ऋण लिँदा सहकारीले सबै ठाँउमा नक्कली कागजात बनाएको पाइएको छ ।

सहकारीले सहकारी बैंकका साथै नेफ्स्कुन, काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कुन)बाट कर्जा लिँदा नक्कली कर्जा फाइल बनाएको पुरीले बताए । यस्तै ऋणीको नाम समेत काल्पनिक रहेको उनको भनाई छ ।

पुरीका अनुसार नेफ्स्कुन, सहकारी बैंकले २ वर्षदेखि नाफामा गएको संस्थालाई मात्रै कर्जा दिने भएका कारण नक्कली कागजात बनाएर कर्जा लिइएको हो ।

नक्कली कर्जा विवरण सहकारीको सिस्टममा राखेको तर, कुनै भौतिक फाइल नभएको उनको दाबी छ । सहकारीले सिस्टममा ब्याज आम्दानी भनेर नाफा देखाएको तर नाफा वितरण नगरेको पनि उनले स्वीकारेका छन् ।

सहकारीले नेपाल बचत तथा ऋण केन्द्रीय संघ गोंगबु शाखाबाट व्यवसाय विस्तारका लागि ३ करोड ५० लाख कर्जा लिएको थियो ।

यता करिब २०७६ साल तिर तीनपिप्ले स्थित इन्द्र प्रसाद गेलाल (सहकारीको ऋणी) समेत ५ जनाको संयुक्त नाममा भएको ३७ आना क्षेत्रफलको जग्गा धितोराखी १ करोड ५० लाख कर्जा संस्थाको नाममा लिएको पाइएको छ । उक्त ऋण काठमाडौं बचत तथा ऋण सहकारी संघबाट (कास्कुन) लिएको हो ।

नक्कली हस्ताक्षर गरेर सञ्चालकलाई ऋण

सहकारीका सञ्चालक महेश श्रेष्ठले श्रीमती सुजता श्रेष्ठको नाममा आफैले हस्ताक्षर गरेर ४० लाख कर्जा लिएको स्वीकारेका छन् ।

यसका साथै संचालक समितिको कोषाध्यक्ष महेश श्रेष्ठले सहकारीबाट करिब ४० लाख बिना धितो कर्जा लिएका हुन् ।

यसैगरि, संचालक समितिका सचिव गोविन्द पुरीले पनि आफ्नो दिदी नाता पर्ने कल्पना गिरीको नामबाट बिना धितो ६० लाख ऋण लिएका छन् ।

संस्थाको अर्का संचालक हरि कृष्ण श्रेष्ठले पनि श्रीमतीको नाममा २१ लाख कर्जा लिएका छन् ।

सहकारीका ठुला ऋणीहरु राम सिंह साउद (सहकारीको लेखा समिति संयोजक)ले १ करोढ ५० लाख, जिवन राज ओझा, किसोर कायस्थ, संदिप झा, कुशल गिरी, सूर्य बहादुर थापा, गोपाल प्रसाद पौडेल, सत्य नारायण लामिछाने, ईन्द्र प्रसाद गेलालले पनि सहकारीले बिना धितो प्रति ऋणी करिब १० लाख देखी २ करोडसम्म कर्जा लगानी गरेको छ ।

उपाध्यक्षदेखि सञ्चालक पनि नक्कली, हस्ताक्षर किर्ते

बचतकर्ता ठगेर फरार भएपछि पक्राउ गरेका सहकारीका सचिव गोविन्द पुरीका अनुसार सहकारीको सञ्चालक समितिको उपाध्यक्ष देवकी कार्की, सदस्यहरु सुष्मा श्रेष्ठ, बिष्णु कुमार गिरी, राम सिंह साउद, लोकेन्द्र थापा, कमल श्रेष्ठ सञ्चालक समितिमा छन् ।

तर, उनीहरुलाई आफु सञ्चालक समितिमा भएको थाहा छैन । यसरी श्रेष्ठ र पुरीले नक्कली उपाध्यक्ष र सञ्चालक खडा गरेको पुरीकै बयानले पुष्टि गरेको छ ।

जसका कारण सहकारीको उपाध्यक्ष भनिएकी देवकी कार्कीले हस्ताक्षर गर्ने स्थानमा उनका श्रीमान धु्रवराज कार्कीले हस्तारक्ष गर्ने गरेका थिए । देवकीका श्रीमान धुव्र सहकारीको चावहिल सेवाकेन्द्रका प्रमुख थिए ।

यस्तै, सहकारीको सदस्य सुष्मा श्रेष्ठको हकमा उनको भाई सूर्य श्रेष्ठले हस्ताक्षर गर्ने गरेका थिए । उनी सहकारीका व्यवस्थापक हुन् ।

लेखा समितिका सदस्य कमल श्रेष्ठ व्यवस्थापक सूर्य श्रेष्ठका दाई हुन् । सहकारीमा संख्या पुर्याउन आफन्तलाई राखेको सचिव पुरीले बयानमा भनेका छन् ।

८ जना नक्कली ऋणीको नाममा साढे ८ करोड ऋण

सहकारीबाट आठ जनाको नाममा नक्कली कर्जा फाइल तयार पारेर कर्जा लिइएको छ । विज्ञान हुमागाईंको नाममा १ करोड ६८ लाख ६८ हजार ८१९, चन्द्र शेखर गिरीको नाममा ७२ लाख ३० हजार, डिल्लीप्रसाद उप्रेतीको नाममा १ करोड ७५ लाख ४९ हजार ८ सय, दिनेश स्वारको नाममा ७२ लाख ७६ हजार १३८, हेमराज श्रेष्ठको नाममा १५ लाख ७५ हजार, कबिराज गिरीको नाममा १ करोड १८ लाख ७५ हजार, नवराज सुवेदीको नाममा १ करोड ५२ लाख १८ हजार ८७५ र सुशीला कोइरालाको नाममा ७० लाख २१ हजार ३३८ रुपैयाँ सहित ८ करोड ४६ लाख १४ हजार ९७० रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यी सबै नक्कली ऋणी हुन् ।


क्लिकमान्डु