हराएका प्रकाशले पाए नागरिकता, प्रधानमन्त्री ओलीलाई भेट्ने



काठमाडौं । हराएको तीन दशकपछि परिवारको सम्पर्कमा पुगेका प्रकाश तामाङले नागरिकता पाएका छन् । युट्युब च्यानल ‘हेर्ने कथा’ मा प्रशारण भएको ‘हराएका वर्ष’ मार्फत् ३५ वर्षपछि परिवार भेटेका तामाङले नागरिकता पाएका हुन् ।

भोजपुर जिल्लाको षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) स्थित उनको घरमै गएर नगरपालिकाका जनप्रतिनिधि र प्रशासनका अधिकारीले नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका छन् ।

गोरखाको चुमभ्यालीबाट भोजपुर पुगेका प्रकाशको बुवा-आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँ र इलाका प्रशासन कार्यालय दिङ्लाका प्रशासकीय अधिकृत विनोद ज्ञवालीले आवश्यक सरकारी प्रक्रिया पुर्‍याएर प्रकाशलाई नागरिकता उपलब्ध गराएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाशलाई भेट्ने बताइएको छ ।

नागरिकता लिएका प्रकाश काठमाडौंको लागि हिँडिसकेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन गृहसचिव एकनारायण अर्याललाई प्रकाशलाई चाँडो नागरिकता उपलब्ध गराउन निर्देशन दिएका छन् ।


क्लिकमान्डु