बचतकर्ताको १२ करोड ठग्ने सत्कार सहकारीका अध्यक्षसहित ९ जना फरार, तीन पक्राउ



काठमाडौं । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको सत्कार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लगायत सञ्चालकले बचतकर्ताको १२ करोड बढी रकम ठगेका छन् ।

बचतकर्ताको बचत ठगेर अझै अध्यक्षसहित ९ जना फरार रहेका छन् भने तीन जना पक्राउ परेका छन् ।

सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीन जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ घर भई काठमाडौँ बस्ने ३२ वर्षका गोविन्द पुरी, रामेछाप घर भई काठमाडौँको चाबहिल बस्ने ३७ वर्षका महेश श्रेष्ठ र सोही ठाउँका ३७ वर्षीय ध्रुवराज कार्की रहेका छन् । पुरी उक्त सहकारीका सचिव, श्रेष्ठ कोषाध्यक्ष र कार्की शाखा व्यवस्थापक रहेका छन् ।

पुरी सहकारीका सचिव तथा कार्यकारी प्रमुख हुन् भने श्रेष्ठ सहकारीका कोषाध्यक्ष तथा कार्की चाबहिल सेवा केन्द्रका प्रमुख हुन्।

बचतकर्ता ठगेर फरार हुनेमा संस्थाका अध्यक्ष सविन उप्रेती, उपाध्यक्ष देवकी कार्की, सदस्य हरिकृष्ण श्रेष्ठ, सदस्य सुष्मा श्रेष्ठ, सदस्य बिष्णु कुमार गिरी, लेखा समिति संयोजक राम सिंह साउद, लेखा समिति सदस्य लोकेन्द्र थापा, लेखा समिति सदस्य कमल श्रेष्ठ र व्यवस्थापक सूर्य श्रेष्ठ रहेका छन् ।

उनीहरुले आर्कषक ब्याजदर दिने लोभमा फसाएर बचतकर्तालाई रकम जम्मा गर्न लगाएका तर बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता माग गर्दा नदिएको पाइएको छ ।

प्रहरीमा परेको उजुरीका आधारमा अनुसन्धान गर्दा बचतकर्ताको रकम अपचलन तथा हिनामिना गर्ने तथा नक्कली कर्जा फाइलहरु खडा गरी सहकारीको रकम दुरुपयोग गर्ने कार्यमा संलग्न रहेको पाइएको छ ।

उनीहरूविरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा मुद्दा काठमाडौं जिल्ला अदालतमा दायर भएको छ ।


क्लिकमान्डु