७ जनाको कागजात किर्ते गरेर संस्था दर्ता, भरपर्दो कृषक सहकारीका अध्यक्षले ठगे २ करोड



काठमाडौं । भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षले अन्य पदाधिकारी र सञ्चालकको नागरिकता लगायत कागजात किर्ते गरेर बचतकर्ताको २ करोडभन्दा बढी ठगी गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।

नुवाकोट बेलकोटगढी नगरपालिका–२ हाल तारकेश्वर नगरपालिका–८ डाँडागाँउ बस्ने ५२ वर्षीय रमेश तिमल्सिनाले बचतकर्ताको २ करोड ८ लाख ८५ हजार ६६ रुपैयाँ ठगेका हुन् ।

तिमल्सिनाले सहकारीमा बचत गर्न लगाई, आर्थिक लाभ लिने योजना बनाई, योजनाअनुसार बलराम पौडेल, सुवर्ण नेपाल, ज्ञानेन्द्र श्रेष्ठ, सीता अधिकारी, गीता श्रेष्ठ, प्रज्वल अधिकारीलाई थाहा जानकारी नदिई/ नगराई उनीहरुको अनुमति तथा मञ्जुरी नलिई नागरिकता दुरुपयोग गरेको पाइएको छ ।

तिमल्सिनाले सहकारी सञ्चालन गर्ने प्रकृया पुर्‍याउनका लागि आफैंलाई अध्यक्ष राखेर उपाध्यक्ष बलराम पौडेल, सचिव सुवर्ण नेपाल, कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठलाई चयन गरेको पाइएको छ ।

यस्तै सदस्यमा सीता अधिकारी, गिता श्रेष्ठ र प्रज्वल अधिकारीसहित सात सदस्यीय सञ्चालक समिति बनेको कागजातमा पाइएको छ ।

अध्यक्ष लगायतको सञ्चालक समितिको पदाधिकारीहरुको उपस्थिति छलफलबाट बैठक बसी हुनु पर्ने निर्णय, भेला लगायतको कार्य नगरी सञ्चालक समितिको सम्पूर्ण पदाधिकारीको तर्फबाट गर्नु पर्ने दस्तखत लगायतको कार्यहरु अध्यक्ष तिमल्सिना आफैंले गरेको पाइएको छ ।

उनले कागजी रुपमा देखाई, एकल ढंगबाट अबैध रुपमा सहकारी सञ्चालन गर्ने गरी, आकर्षक व्याज दिने, आवश्यक परेका बखत भुक्तानी लिन पाउने र सुलभ तवरले कर्जा उपलब्ध गराउने भनी बिभिन्न प्रलोभन देखाई ११६ जना बचतकर्तालाई २ करोड ८ लाख ८५ हजार ६६ रुपैयाँ ठगेको पाइएको छ ।

अहिले तिमल्सिनाले संस्था बन्द गरी भागेका छन् । तिमल्सिनाले सहकारी ऐन, २०७४ दफा १२२ को देहाय (घ) र (ङ),(च) बमोजिम कसूर गरेको अभियोग छ ।

उनलाई सहकारी ऐन २०७४ को दफा १२४ को ‘घ’, ‘ङ’, ‘च’, ‘छ’, ‘घ’, ‘ज’, ‘झ’, ‘ञ’, ‘ट’, ‘ण’ र ‘त’ को कसुरमा बिगो र जरिवाना भराउन माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।


क्लिकमान्डु