रिद्धि सिद्धी सिमेन्टले गर्‍यो ५ अर्ब ८१ करोडको व्यापार, ऋणका लागि १० अर्ब ५९ करोडको रेटिङ



काठमाडौं । रिद्धि सिद्धी सिमेन्ट लिमिटेडको व्यापारमा केही सुधार देखिएको छ ।

सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२३ मा यसको व्यापारमा गिरावट आएर ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा व्यापारमा गिरावट भोगेको कम्पनीले सन् २०२४ मा भने केही वृद्धि गरेको छ । व्यापारिक समूह शंकर र अम्बे ग्रुपको सामूहिक भेन्चरका रुपमा रहेको यो कम्पनीको व्‍यापारमा केही वृद्धि आएको छ ।

सन् २०२४ मा कम्पनीले ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीको व्यापारमा केही सुधार आइरहँदा मार्जिनमा पनि सुधार देखिएको छ।

सन् २०२१ मा २६.१८ प्रतिशत मार्जिन रहेको कम्पनीको सन् २०२२ मा मार्जिन १८.०३ प्रतिशतमा सीमित भएको थियो । त्यसपछि सन् २०२३ मा यसको मार्जिन १८.७२ प्रतिशत पुगेको थियो । सन् २०२४ मा भने यसको मार्जिन २४.८१ प्रतिशत पुगेको छ ।

सिमेन्ट र क्लिंकरको उत्पादन तथा बिक्रीका लागि यो कम्पनीसँग ग्राइन्डिङका लागि ७ लाख ३० हजार मेट्रिक टन प्रतिवर्षको उत्पादन क्षमता रहेको छ । त्यस्तै, क्लिंकर उत्पादनका लागि ८ लाख ४० हजार मेट्रिक टन प्रतिवर्षको क्षमता रहेको छ । कम्पनीले रिद्धि सिद्धी र मकवानपुर सिमन्ट ब्राण्ड नाममा ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गर्दै आएको छ । यसको उत्पादन कारखाना हेटौंडा रातेमाटेमा रहेको छ ।

हालका लागि कम्पनीले १० अर्ब ५९ करोड ९७ लाख रुपैयाँको रेटिङ गराएको छ । इन्फोमेरिक्सले कम्पनीलाई दीर्घकालीन कर्जा सुविधाका लागि ८ अर्ब २७ करोड ८६ लाख रुपैयाँमा त्रिपल बि माइनस र २ अर्ब ३२ करोड १० लाख रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए थ्रि रेटिङ दिएको छ।


क्लिकमान्डु