पूर्वीनाकाबाट १५ करोडको खुदो बंगलादेश निर्यात



भद्रपुर (झापा) । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १४ करोड ९३ लाख ६९ हजार बराबरको मोलास्सेस (खुदो) बंगलादेश निर्यात भएको छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार गत आवमा नौ हजार सात सय ४१ दशमलव ६५ मेट्रिक टन खुदो बंगलादेश निर्यात भएको हो ।

चालु आव २०८१/८२ को भदौ दोस्रो सातासम्म तीन हजार पाँच सय ५५ दशमलव ६ मेट्रिक टन अर्थात् पाँच करोड ३१ लाख ९७ हजार रुपैयाँ बराबरको खुदो बंगलादेश निर्यात भएको थियो ।

भारतले बङ्लादेशमा खुदो निर्यात गर्दा ५० प्रतिशत कर लगाएसँगै नेपालबाट यसको माग बढेको व्यवसायी एवं क्लियरिङ एजेन्ट नवीन दाहाल बताउँछन् ।

उनका अनुसार भारतबाट मात्रै निर्यात भइरहेको खुदोमा भारी मात्रामा कर लगाउँदा आगामी दिनमा नेपालबाट खुदो बंगलादेश निर्यात हुने क्रम बढ्ने उनी बताउँछन् ।

आगामी कात्तिक/मङ्सिरदेखि उखु पेल्न सुरु भएसँगै ठूलो मात्रामा खुदो बंगलादेश निर्यात हुने व्यावसायी दाहालको भनाइ छ ।

नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीका प्रमुख पाण्डेका अनुसार नेपालको पूर्वीनाका काँकडभिट्टाबाट भारतको पश्चिम बङ्गालको फूलबारी, बंगलादेशको उत्तरीनाका बङ्गलाबन्ध हुँदै बंगलादेशसँग व्यापार हुँदै आएको छ ।


क्लिकमान्डु