नाडा अटो शो: महँगा कारमा ग्राहकको आकर्षण, २ हजारभन्दा धेरै बुकिङ, ७१ हजारबढीले गरे अवलोकन



काठमाडौं । गाडीहरुको कुम्भमेला नाडा अटो शो-२०२४ आइतबारदेखि पूरा हुँदैछ । मंगलबारदेखि सुरु भएको यो पटकको नाडा अटो शो ६ दिनसम्म चल्नेछ । अघिल्ला वर्षहरुभन्दा यो अटो शो भाइब्रेन्ट देखिएको छ ।

सिथिल अर्थतन्त्रकाबीच नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको शोले रौनक ल्याएको छ । शनिबारसम्म साना ठूला गरी २ हजारभन्दा बढी कारहरुको बुकिङ भएका छन् । नाडाका अनुसार इन्ट्री लेबलदेखि लक्जरी सेग्मेन्टसम्मका कारहरुमा ग्राहकको आकर्षण देखिएको छ । दुईपाङ्ग्रेको समेत राम्रो बुकिङ रहेको नाडाको दाबी छ ।

सस्ता कारहरुमा नामी र टाटा पन्च ईभी सबैभन्दा धेरै बुकिङ भएको छ । यी दुबैको बुकिङ ३०० भन्दा धेरै छ । टाटा पन्च ईभी सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ । कम्पनीले नाडाका अवसरमा यो ईभी कार लन्च गरेको हो । सस्तो मूल्यमा एसयुभी कार पाइएका कारण ग्राहकहरुलाई तान्न सकेको हो ।

नेपाली बजारमा पन्च ईभी तीन भेरियन्टमा उपलब्ध हुने छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर ३३ लाख ९९ हजार, पन्च ईभी इमपावर्ड एलआरको मूल्य ३६ लाख ९९ हजार र पन्च ईभी इमपावर्ड प्लस एसएलआर ३८ लाख ९९ हजार पर्ने छ । पन्च ईभी इमपावर्ड प्लस एस एमआर भने नेपाली बजारमा उपलब्ध छैन् । उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको कम्पनीले दाबी गरेको छ ।

त्यसैगरी चिनियाँ ब्राण्ड नामीको पनि करिब ३०० बुकिङ भएको कम्पनीको दाबी छ । यो चिनियाँ डोङफेङ कम्पनीले उत्पादन गर्ने कार नेपालमा एमएडब्लुवृद्धि बिक्री गर्छ । फाइभस्टार लक्जरी भएको यो कारमा मानिसहरु झुम्मिएका छन् । मीमा नामी ई-१,ई २ र ई ३ गरी तीनवटा मोडल नेपाली बजारमा उपलब्ध छ । यसमा ई ३ फुल अप्सनमा उलपब्धमा छ । फुल अप्समा अटो पार्किङको सुविधा छ ।

त्यसै गरी महँगा कारहरुमा समेत रुचाईएका छन् । बिवाईडी, दिपाल,अवतार वान वानलगायतमा समेत मानिसहरु झुम्मिएका हुन् । दिपालले अटो शोमा एल जेरो सेभेन र एस जेरो सेभेन प्रदर्शनीमा राखेको छ । एल जेरो सेभेन तुलनात्मक रुपमा क्लासिक देखिन्छ । उक्त कार उपभोक्ताहरुको रोजाईमा परेको छ ।

बिवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले लक्जरी कार सिलायोन प्रदर्शनीमा राखेको थियो । यो कार चीनपछि पहिलोपल्ट नेपालमा सार्वजनिक भएको हो । यो कार तत्कालै ल्याएर बेच्न सक्ने अवस्था नभएको तर अटो शोमा ग्राहकहरुले अत्याधिक सोभखोज गर्न थालेपछि कम्पनीले हटाएको छ ।

बिवाईडीको एट्टो थ्री पछिल्लो समय नेपालमा अत्याधिक रुचाईको कार हो । बिवाईडीले स्टलमा हरेक दिन भीडभाड लाग्ने गरेको छ ।

एमजीका लागि नेपालको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी साइबरस्टर प्रदर्शनीमा राखेको थियो । २ वटा लक्जरी सेग्मेन्टको कार प्रदर्शनीका लागि ल्याएको थियो । १ करोड ६८ लाख रुपैयाँ पर्ने यो कार दुबै पहिलो दिन नै बिक्यो । दोस्रो दिन कम्पनीले हटायो ।

चिनियाँ ईभीमय बनेको यो पटकको नाडा अटो बिजुली गाडी किन्न मानिसहरुको भीड लागेको छ । सरकारले सहुलियत दिएका कारण नेपालमा ईभीको बाढी आइरहेको छ ।

नाडा अटो शो हेर्न राजदुतदेखि कलाकार,उद्योगी समेत पुगेका । नेपालका चिनियाँ राजदुत चेन सोङसमेत नाडामा पुगेका थिए ।

शनिबार एकैदिन नाडामा अवलोकन गर्न साढे १८ हजार पुगेका थिए । पहिलो दिन करिब ८ हजारले अवलोकन गरेका थिए । दोस्रो दिन संख्या करिब दोब्बर पुगेको थियो । तेस्रो दिन १७ हजारले अवलोकन गरेका थिए । शनिबारसम्म ७१ हजार बढीले अवलोकन गरिसकेका छन् ।


क्लिकमान्डु