आयल निगमका कर्मचारी बर्मामाथि कार्यालयमै ढोका थुनेर कुटपिट गरि हत्या, सहकर्मी पक्राउ



काठमाडौं । नेपाल आयल निगमको धनुषा महेन्द्रनगरस्थित जनकपुर डीपोमा कार्यरत राकेश बर्माको हत्यामा संलग्न एक जना पक्राउ परेका छन् ।

क्लिकमान्डुका सहसम्पादक राजेश बर्माका भाइ राकेश बर्मामाथि कुटपीट गरी हत्या गरेको आरोपमा निगममै कार्यरत प्रकाश यादवलाई प्रहरीले पक्राउ गरेको हो । धनुषा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले यादवलाई पक्राउ गरि अनुसन्धान भइरहेको जानकारी दिए ।

अहिले घटनास्थलमा मुचुल्का उठाउने लगायतको काम भइरहेको प्रहरीले जनाएको छ ।

करारमा कार्यरतहरुको सेवा सुविधा लगायतका विषयमा केही समयअघि देखि विवाद थियो । सोही विवादले उग्ररुप लिँदा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका बर्मामाथि कुटपिट भएको हो ।

बर्मा ४ वर्षदेखि उक्त डीपोमा करारमा कार्यरत थिए । शुक्रबार बिहान राकेशलाई सहकर्मीहरुले कोठामा थुनेर बेल्चाले टाउकोमा प्रहार गर्दा मृत्यु भएको दाजु राजेश बर्माले जानकारी दिए ।

‘बिहान कार्यालय गएको बेलामा ढोका थुनेर भाइलाई बेल्चा लगायतले हानेर मारेको खबर आयो,’ बर्माले भने, ‘स्पोट डेथ भएको छ । म त्यता जाँदै छु ।’


क्लिकमान्डु