चोरीको क्रममा मुनाको हत्या गरेको खुलासा, फाँसीसम्मको फैसला हुनसक्ने



काठमाडौं । अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्या आरोपमा अमेरिकी प्रहरीले ५१ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । बबी सिंह शाह नामका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । टेक्ससको ह्युस्टनस्थित अपार्टमेन्टमा गत सोमबार मुनाको हत्या भएको थियो ।

यस घटनामा अभियुक्त बबीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले मंगलबार सेप्टेम्बर ३ मा सिंहलाई अदालतमा उपस्थित गराउने छ । अभियुक्त बबीले घातक हतियारको प्रयोग गरी मुनाको हत्या गरेको भन्दै प्रहरीले बिहीबार सेप्टेम्बर ५ मा हातहतियार सम्बन्धी मुद्दामा पनि अदालत उपस्थित गराउने बताइएको छ ।

प्रहरीका अनुसार अभियुक्त बबी सिंह यसअघि पनि पटक पटक विभिन्न मुद्दामा पक्राउ परिसकेका थिए । ह्युस्टनमा मुनाको हत्यालाई यस क्षेत्रमा पछिल्ला वर्षहरुमा भएको सबैभन्दा ठूलो हत्याको घटना मानिएको छ । पछिल्लो घटनामा बबी सिंहले चोरीको क्रममा मुनाको हत्या गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

अदालतमा बुझाइएका कागजातमा चोरीको क्रममा मुनाको हत्या गरेको कुरा खुलेको अमेरिकास्थित सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

हत्याको ४८ घण्टामै प्रहरीले सीसी टिभी फुटेजका आधारमा अभियुक्त बबी सिंहलाई पक्राउ गरे पनि बिहीबार मात्रै सार्वजनिक गरेको हो । मुनाको हत्यामा बबी सिंह संलग्न रहेका प्रसस्त प्रमाण प्रहरीले भेटिसकेको छ । यस घटनामा अभियुक्त बबी सिंह दोषी प्रमाणित भए अदालतले उनलाई फाँसीको सजायसम्म दिनसक्ने बताइएको छ ।

सिंहविरुद्ध अवैध हातहतियार ओसारपोसारको मुद्दा पनि लागेको छ । २१ वर्षीया मुना केही वर्षदेखि अमेरिकामा अध्ययनरत थिइन् । भोजपुर स्थायी घर भएकी मुनाकी आमा भने काठमाडौंको काँडाघारीमा बस्दै आएकी छन् । मुना परिवारमा एक मात्र सन्तान थिइन् ।


क्लिकमान्डु