सरकारले वायुसेवा निगम राम्रोसँग चलाउन सकेन, निजीकरण गर्न संसदीय समितिमा प्रस्ताव



काठमाडौं । संसदीय समितिमा सांसदहरुले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचन र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद शपुपतिसमशेर जबराले यस्तो प्रस्ताव राखेका हुन् ।

सांसदहरुले सरकारले वायुसेवा निगम चलाउन नसकेको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव समितिमा राखे । उनीहरुले निगम आर्थिक रुपमा कमजोर बन्दै गएको र निगमले जहाज सञ्चालन गर्नसक्ने अवस्था नभएको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव गरे ।

भारत जस्तो ठूलो देशमा एयरइण्डिया निजी कम्पनीले सञ्चालन गरेको उदाहरण दिँदै नेपालमा पनि त्यही मोडलमा जाँदा केही समस्या नहुने सांसदहरुको धारणा थियो ।

सांसदहरुले नेपाल वायुसेवा निगम सुधारको एउटा मात्रै विकल्प निजीकरण वा निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिनुपर्ने बताए।

सांसदहरुले निजी कम्पनीका जहाजहरु अहिलेसम्म ग्राउण्डेड भएका समाचारहरु सुन्न नपर्ने तर नेपाल वायुसेवा निगमका चारवटा जहाजमा ३ ग्राउण्डेड भनेर सधैँ सुन्नुपर्ने अवस्था रहेको बताए ।

उनीहरुले एउटा जहाज एक महिनाभित्र सि चेक भएर नेपाल आउनुपर्ने भए पनि चार/पाँच महिनासम्म आउन नसक्नुको कारण निगम अध्यक्षसँग माग गरे।

नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले निगमले हवाइ जहाज चलाउन नसकेको बताए । भारतमा पनि एयर इण्डियाले चलाउन नसक्दा टाटा एयरलाइन्सले सञ्चालन गरेको उदाहरण दिँदै उनले त्यही मोडलमा नेपाल जान आवश्यक रहेको औंल्याए । चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रुपमा निजी क्षेत्र निगम दिनुपर्ने उनको भनाइ छ ।

‘निगमले हवाइ जहाज चलाउन नसकेको भन्ने लाग्छ । भारतमा पनि टाटा एयरलाइन्स चलाउन नक्दा एयर इन्डियाको रुपमा आयो । तर २०२२ पछि टाटा एयरलाइन्सकै व्यवस्थापनमा सुरु भइरहेको छ,’ भट्टचनले भने,’सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रुपमा २०२२मा १४७ वटा जहाजसहित एयर इन्डियाको जिम्मा लिएको उदाहरण छ । नेपाल वायुसेवा निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएको छ । प्राधिकरणको नेतृत्वले निजी क्षेत्रलाई चलाउन दिने प्रस्ताव ल्याउँदा राम्रो होला जस्तो लाग्छ ।’

हिमालय एयरलाइन्ससँग चारवटा जहाज रहेको भए पनि त्यसमा अहिलेसम्म समस्या आएको भन्ने सुन्नमा नआएको उनले बताए । चीन सरकारको सहयोग रहेकाले भारतमा उडान गर्न नसके पनि अन्य २० देशमा उडान गरिरहेको बताए । उनले जहाज सि चेकको समस्या अहिलेसम्म नसुनिएको भन्दै बराबर जहाज हुँदा पनि नेपाल एयरलाइन्समा समस्या बढी समस्या मात्रै आउने गरेको भन्दै सरकारले हिमालय एयरलाइन्सलाई जिम्मा दिनुपर्ने धारण राखे ।

‘हिमालय एयरलाइन्ससँग पनि चारवटा जहाज छन् । त्यसमा समस्या आएको सुनिएको छैन । चीन सरकारको सहयोग रहेकाले भारतमा उडान गर्न सकेको छैन । अन्य २० देशमा उडान गरेको छ । जहाज सि चेकको समस्या सुनेका छैनौ । बराबर जहाज हुँदा पनि नेपाल एयरलाइन्समा समस्या बढी आएको हुन्छ,’ उनले भने, ‘अब हामीले हिमालय एयरलाइन्सलाई जिम्मा दिने होकी । समितिमा घण्टौ छलफल गरेर हुनेवाला केही छैन ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर जबराले नेपाल वायुसेवा निगमको वर्तमान समस्याको हल निजीकरण भए मात्रै समाधान हुने बताए ।

सबै समस्या हल गरी राम्रोसँग निगम सञ्चालन गर्न निजीकरण गर्नुपर्ने धारणा राखे । उनले राष्ट्रिय ध्वजावाहक निजीकरण गर्नु राम्रो नभए पनि सधैँ समस्या र आर्थिक रुपमा कमजोर बनाएर चालउन नहुने बताए ।

भारतमा निजीकरण गर्न मिल्छ भने नेपालले पनि गर्न मिल्ने उनको तर्क छ । नेपाल वायुसेवा निगममा फण्डामेण्टल समस्या रहेको भन्दै एउटा वाइडवडी जहाजले अन्तर्राष्ट्रिय सबै उडान गर्न नसक्ने उनले बताए ।

धेरै जहाज किन्न सरकारसँग पैसा नभएको भन्दै पुँजीको लागि निजी क्षेत्रलाई सञ्चालनको लागि दिन उपयुक्त हुने उनले भने ।

उनले सरकारबाट नेपाल वायुसेवा निगम चल्नसक्ने जिकिर गरे ।

नेकपा एमालेकी सचेतक सुनिता बरालले व्यापार हुने समयमा चारवटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड भएको भन्दै नेतृत्वको क्षमता माथि प्रश्न उठाइन् । निगम नेतृत्व जहाज सञ्चालन गर्ने सन्दर्भमा जिम्मेवार नभएको उनको भनाइ छ ।

विश्वका धेरै देशमा दुईवटा जहाज हुँदा पनि राम्रोसँग उडान गरिरहेको भन्दै नाफामा पुगेको उनले बताए । निगमको नेतृत्वले राजनीतिक दलहरुलाई दोष दिएर भाग्न नमिल्ने बरालले बताइन् ।

नेपाली कांग्रेसका सांसद उदय शमशेर जबराले नेपाल वायुसेवा निगमका ७५ प्रतिशत जहाज ग्राउण्डेड रहेको बताए । उनले चारवटा जहाजमा एउटै समयमा ३ जहाज ग्राउण्डेड हुने विश्वका कुनै पनि देशमा नहुने उल्लेख गरे । जहाज मर्मतको लागि इजरायल,इटली जाँदा फर्कंदै नर्फकनुको कारण के हो ? भन्दै उनले प्रश्न गरे ।

नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले सार्वजनिक खरिद ऐन पुरानो भएको कारण पनि जहाज मर्मत लगायत समस्या भएको बताए । उनले निगमको संरचनागत सुधार गर्न पनि आवश्यक रहेको बताए ।

निगमसँग जहाज नभएको कारण पनि समस्या निरन्तर आईरहेको उनले बताए।

निगम व्यवस्थापनलाई व्यस्थित गर्न भएका अध्ययन र अनुसन्धानलाई राजनीति स्वार्थ भन्दा माथि उठेर समाधान गर्न आवश्यक रहेको बताए ।

नेपाल वायुसेवा निगममा देखिको समस्या नीतिगत रुपमा समाधान गर्न आवश्यक रहेको बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले जहाजका पाट्र्सहरु कुन समयमा बनाउनुपर्छ भन्ने सबै सेड्युलमा हुँदा पनि ३ जहाज एकै पटक ग्राउण्डेड हुनु राम्रो नभएको बताए । निगमले जहाजहरु सञ्चालनको लागि सामान्य व्यवस्थापन समेत गर्न नसकेको उल्लेख गरे ।


क्लिकमान्डु