सुन काण्डको राम्रोसँग छानबिन नगरेर प्रचण्डले माओवादी हेडक्वाटर जोगाए: पदम गिरी (भिडियो)



काठमाडौं । पूर्वकानुनमन्त्री समेत रहेका नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीको सही ढंगबाट छानबिन नगरेर तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरु जोगाउने काम गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले सही ढंगबाट छानबिन भएको भए माओवादीका शीर्ष नेता बाँकी नरहने बताए ।

‘प्रचण्ड नेतृत्वको सरकारको पालामा इतिहास रच्ने काम भयो । सायद यसको सही ढंगले छानबिन भएको भए, पारदर्शी ढंगले छानबिन भएको भए सायद तपाईंको पार्टीको हेडक्वार्टरमा कोही मानिस बाँकी रहँदैन थिए,’ उनले भने ।

सुशासनको ठूला ठूला कुरा गर्ने तर बालुवाटारको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीहरुलाई कारबाही गर्न नसकी उन्मुक्ति दिने काम गरेको उनको भनाइ छ ।

‘ललितानिवासको जग्गालाई व्यक्तिका नाममा सुम्पने हर्कत गर्ने मानिसलाई कारबाहीको दायरामा ल्यायौँ भन्नुभयो । अनुसन्धानको दायरामा ल्याइ कारबाही अघि बढाउन भनेको थियो, सर्वोच्च अदालतले तर पूर्वप्रधानमन्त्रीमाथि छानबिन गर्न तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको बैठक बोलाएर हामी अनुसन्धान गर्न सक्दैनौँ भनेको होइन?,’ उनले भने, ‘जनताको आक्रोश थेग्न नसकेपछि घरघरमा सीआइबी पठाएर अनुसन्धान गर्न खोजेको जस्तो गरी उन्मुक्ति दिने काम गरेको हो की होइन ? त्यही हो सुशासनको पक्षमा उभिएको ?’

उनले गणतन्त्रपछिका ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व माओवादीले नै लिएको भन्दै सो अवधिमा किन डेडिकेटेड ट्रंक लाइनको वक्यौता नउठाएको भन्दै प्रश्न गरे।

‘म ट्रंक र डेडिकेटेड लाइनमा राज्यले लिनुपर्ने २२ अर्ब वक्यौता उठाउने पक्षमा थिएँ । अहिलेको सरकारले त्यो उठाउन दिएन भन्ने प्रकारले हिलो छ्याप्ने कोशिस गर्नुभयो,’ प्रचण्डलाई प्रश्न गर्दै उनले भने, ‘तपाईंहरुले उर्जा मन्त्रालय सम्हालेको पछिल्लो ८ वर्ष भयो । निरन्तर ८ वर्ष उर्जा मन्त्रालयको नेतृत्व गरिरहँदा किन आजसम्म वक्यौता उठाउन चाहनु भएन । किन वक्यौता उठाउनेतिर लाग्नु भएन । उद्योगी, व्यापारीहरुले तिर्नुपर्ने बिल कति हो टिओडी मिटरअनुसार भन्नेकुरा आज पनि दिन सकेको छैन । किन प्राधिकरणले दिन चाहँदैन । सुशासनको कुरा गर्नुभयो ।’


क्लिकमान्डु