चोर्न नपाएपछि चिनियाँ सामानका आयातकर्ताले नाका फेरे

जोगवनी नाकाबाट आयात १९ अर्ब र निर्यात साँढे ८ अर्बले घट्यो



विराटनगर । २०७२ सालको भूकम्पपछि उत्तरी नाकाबाट आयात प्रभावित हुँदा चिनियाँ सामान भित्रिने प्रमुख नाका बन्यो, विराटनगरको जोगबनी । त्यसपछि जोगवनी नाकाबाट विशेषगरी चिनियाँ तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ता चप्पलको आयात ओइरो लाग्न थाल्यो ।

विराटनगर, विर्तामोड, काठमाडौं, वीरगञ्ज र भैरहवाका आयातकर्ताबीच जोगबनी नाका प्रयोग गरेर चिनियाँ तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ता चप्पल आयात गर्ने प्रतिष्पर्धा नै चल्यो । जोगबनी नाकाबाटै आयातकर्ताले चिनियाँ सामान भित्र्याउन रुचाउनुमा उसबेलाका भन्सार अधिकारी र भन्सार एजेन्टको मिलोमतामा खुकुलो भन्सार चेकजाँचसँग पनि जोडेर अर्थ लाग्यो ।

नलागोस् पनि कसरी भन्सारबाट छुटेका चिनियाँ तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ता चप्पल प्रहरीले समाउने अनि त्यही सामान छुटाउन भन्सार कर्मचारी, एजेन्ट र तस्कर प्रहरीसँग जाइलाग्ने क्रम बढ्यो । त्यसैक्रममा दुईवर्ष अघि ती सामान बोकेको ट्रक साँझ भन्सारबाट छुटे लगत्तै भन्सारको दोस्रो ढाटमा प्रहरीले रोक्यो । त्यसपछि भन्सार अधिकारी, एजेन्ट र तस्करले प्रहरीलाई छाडन दबाब दिए । प्रहरीले छाड्न मानेन अनि रातभरी तीन पक्षबीच ढुङ्गा हानाहान भयो । ट्रक भन्सार परिसरमै फर्कियो । भोलिपल्ट पनर्मूल्यांकनको नाममा त्यो ट्रक छुट्यो ।

यो खबर भन्सार विभागसम्म पुग्यो । विभागका प्रतिनिधि आएर छानबिन गर्ने नाममा झारा टारेर फर्किए अनि यो घटनालाई गुपचुप राखियो । तर, विगत दुई वर्षदेखि जोगवनी नाकावाट चिनियाँ तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ता चप्पलको आयात झण्डै ७५ प्रतिशतले घटेको छ । यसको मुख्य कारण भन्सार चेकजाँचमा कडाइ भएका कारण आयातकर्ताले नाका नै परिवर्तन गरेको प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्र ढकालको दाबी छ ।

दुईवर्ष अघिसम्म मुलुकभरका दर्जन बढी आयातकर्ताले जोगबनी नाकाबाट चिनियाँ तयारी कपडा, रबर र प्लाष्टिकका जुत्ता चप्पल आयात गरेको सूची छ । तर, पछिल्लो समय भन्सार चेकजाँचमा कडाइ गरेपछि ती आयातकर्ताले जोगबनी नाकाबाट सामान ल्याउन छाडेर अन्यत्र नाका सरेको ढकालले बताए ।

आर्थिक वर्ष २०७९/८० मा जोगवनी नाकाबाट ५ अर्ब ५ करोड २१ लाख ८५ हजार रुपैयाँको चिनियाँ तयारी पोशाक आयात भएको थियो । तर, गतवर्ष झण्डै ७४ प्रतिशतले आयात घटेको छ । गतवर्ष जोगबनी नाकावाट १ अर्ब ६२ करोड ४८ लाख ३८ हजार मूल्यको मात्र तयारी कपडा आयात भएको भन्सारको तथ्यांक छ । त्यसैगरी आव २०७९/८० मा जोगवनी नाकाबाट १ अर्ब ६ करोड ९५ लाख ९७ हजार मूल्यका चिनियाँ रबर र प्लाष्टिकका जुत्ता चप्पल आयात भएकोमा गतवर्ष २१ करोड ४३ लाख ३३ हजार मूल्यका मात्र आयात हुँदा झण्डै ८० प्रतिशतले आयात घटेको छ ।

भूकम्पपछिका झण्डै ७ वर्षसम्म यो नाकावाट चिनियाँ तयारी पोशाक वार्षिक सरदर ६ अर्ब र चिनियाँ रबर तथा प्लाष्टिकका जुत्ता चप्पल हरेक वर्ष सरदर दुई अर्ब मूल्यका आयात भएको भन्सारको तथ्यांकमा देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा जोगबनी नाकावाट समग्रमा १९ अर्बले आयात घटेको छ । अघिल्लो वर्ष जोगवनी नाकाबाट १ खर्ब ८६ अर्बको आयात हुँदा गतवर्ष १ खर्ब ६७ अर्ब मूल्यको मात्र भएको प्रमुख भन्सार अधिकृत ढकालले बताए । यसको मुख्य कारणमा चिनियाँ सामान आयात गर्नेले नाका परिवर्तन गर्नु र अन्य सामान आयातमा आर्थिक मन्दीको प्रभाव परेको उनको दाबी छ ।

जोगबनी नाकाबाट आयात हुने मुख्य १९ वस्तुमध्ये अघिल्लो वर्षको तुलनामा गत वर्ष चिनियाँ तयारी कपडा ७३ दशमलब ७८, रबर र प्लाष्टिक जुत्ताचप्पल ७९.४३, एमस्टील सिट एस ९५.८१, स्टील वायर रड इन क्वायल र ८ एमसम्म एस ३६.६८, मोटर साइकल ७४.९२, भटमासको कच्चा तेल ३१.५१ एमएस विलेट.एस ४१.९७, पोलिथिन दानाको आयात ६.८६ प्रतिशतले घटेको भन्सारको आँकडा छ ।

त्यसैगरी भन्सारको तथ्यांकअनुसार जंक इन्ग्ट ४१.५६, फलामे संरचना ५४. २३, पूर्वनिर्मित भवनहरु ८७.३१, सुती कपडा ३७.७९, बिस्कुट ७०, लिनोलीयम फ्लोर कभरिङ ८६ .४७, फलाम वा इस्पातका सिमलेस पाइप ६७. ९८, एलपी ग्यास ३.७८, क्याप टोपी ९२.३८, एमस्टील स्ट्रिप्स.एस ९८.५४ र पिग आइरनको आयात ३९.२० प्रतिशतले घटेको छ ।

निर्यात साढे ८ अर्बले घट्यो
आर्थिक वर्ष २०७९/८० को तुलनामा गतवर्ष जोगवनी नाकाबाट निकासी पनि साढे ८ अर्बले घटेको छ । अघिल्लो वर्ष यो नाकाबाट ३९ अर्ब ३३ करोड बराबरका सामान निकासी हुँदा गतवर्ष ३० अर्ब ८१ करोडमात्र भएको छ ।

जोगवनी नाकाबाट निकासी हुने मुख्य २० वस्तु मध्ये सबै भन्दाबढी प्रशोधित पाम तेल, भटमासको तेल र सुर्यमुखीको प्रशोधित तेलको निकासी ह्वात्तै घटेको छ । यसको मुख्य कारणमा भारतले यसको कच्चा पदार्थ आयातमा भन्सार महसुल न्यून गरेर स्वदेशी उत्पादनलाई प्राथामिकता दिनुलाई मानिएको छ ।

आर्थिक वर्ष २०७९/८० मा जोगवनी नाकावाट ९ अर्ब ४० करोड ३९ लाख ४६ हजार रूपैयाँको प्रशोधित पाम तेल निर्यात हुँदा गतवर्ष ८९ करोड २४ लाख ९७ हजार मूल्यको मात्र निर्यात भएको छ । यो समग्रमा ९०.५१ प्रतिशतले कम हो ।

त्यसैगरी अघिल्लो वर्ष ३ अर्ब १० करोड ८८ हजारको भटमासको प्रशोधित तेल निकासी हुँदा गतवर्ष ७४ करोड ५४ लाखको मात्र निकासी भएको छ । यो ७५.९६ प्रतिशतले घटी हो । त्यस्तै अघिल्लो वर्ष ९ करोड ४५ लाख १८ हजारको सुर्यमुखीको प्रशोधित तेल निकासी भएकोमा गतवर्ष ८ हजारको मात्र निकासी भएको छ । भन्सार विभागका अनुसार यो पनि ९९.९९ प्रतिशतले न्यून हो ।

त्यसैगरी सेन्थेटिक यार्न ६.३२, जुटका झोला र बोरा १२.७१, चाउचाउ, नुडल्स र पास्ता १८.९१, जुटका कपडा ३.४९, गहुँको पिठो ८८.३०, सनपाटको धागो ३३.७२, स्टेपल फाइबरको सिउने धागो ७५.४२, कोरुगोरेटेड सीट जस्तापाता १६.४०, चोकर भुस ९९.६५, कोटेट नगरिएको क्राफ्ट पेपर र पेपर बोर्ड ८५.४१, अदुवा र सुठो ४६.४, काउली, बन्दकोभी र ब्रोकाउली ४५.१७, चिया १८.७१, राँगा भैसीको तयारी छाला १२.६१, फ्याट्टी एसिड आयल्स १५.१८, चकलेट ६३.३४ र लेख्ने छाप्ने कागजको निकासी ३९.८५ प्रतिशतले घटेको भन्सारको तथ्याङ्क छ ।


विनोद भण्डारी