नाडा अटो शोमा झकिझकाउ करोडमाथिका कार, लक्जरी गाडी पनि ईभीकै

सबैभन्दा महँगो गाडी कुन?



काठमाडौं । नाडा अटो शो-२०२४ मा सस्ता कारसँगै प्रिमियम लक्जरी कारसमेत प्रदर्शनीमा राखिएको छ ।

महँगा कारमा शोख राख्नेहरुका लागि समेत लक्षित गरेर विभिन्न कम्पनीले करोडमाथिका कारहरु ल्याएका छन् । यस्ता कारहरुमा लक्जरी हुनुका साथै अत्याधुनिक फिचरहरुले भरिएको हुन्छ । । गुलाबको फूलले सजाउनेदेखि महँगा कारहरुलाई आकर्षक रुपमा प्रदर्शनीमा राखिएको छ ।

अवतार ११

यो पटकको नाडा अटो शोमा प्रिमियम कार-अवतार ११ प्रदर्शनीमा राखिएको छ । सिजी मोटर्स र एमएडब्लुवृद्धिको जेभीले अवतार ११ ल्याएका छन् । यो गाडीको मूल्य १ करोड ४५ लाख रुपैयाँ पर्छ । नाडामा १० लाख रुपैयाँ छुटको अफर दिइएको छ।

कम्फट स्टाइल, टेक्नोलोजी र इनोभेसन मिसिएको कार हो अवतार ११ । यो कारले ६५० किमीसम्म रेन्ज दिने कम्पनीको दाबी छ। टप स्पीड २०० किमी प्रतिघण्टा छ ।

एमजी साइबरस्टर

एमजी गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी साइबरस्टर ल्याएको छ । साइबरस्टरमा २५० किलोवाट क्षमताको मोटरपावर छ । ७० किलोवाटको ब्याट्री प्याक उपलब्ध छ ।

सिंगल चार्जमा ५०८ किमी रेन्ज दिन्छ । साइबरस्टरको लम्बाई ४३३५ एमएम छ । यो कारको मूल्य १ करोड ६८ लाख रुपैयाँ पर्छ ।

आयोनिक ५

लक्ष्मी हुन्डाईले प्रदर्शनीमा राखेको अर्को महँगो कार आयोनिक ५ हो । १ करोड ३ लाख ९६ हजार रुपैयाँ पर्छ । डिजाइन अत्याधुनिक र आकर्षक रहेका छन् । हुन्डाईको ‘रेभुलुसनरी ड्राईभ आर्किटेक्चर’ मा निर्माण भएको छ । रियर ह्‍विल ड्राईभ सिस्टम छ । सिंगल चार्जमा ३७५ किमीसम्म रेन्ज दिन्छ ।

सिट्रोन सी-५ एयरक्रस

सिट्रोन सी-५ एयरक्रस १ करोड ३५ लाख रुपैयाँ पर्ने कार हो । यो इन्टर्नल कम्बुस्चन इन्जिन (आइसीई) कार हो । यो १५९८ सीसीको पेट्रोल कार हो ।

यो कार फ्रेन्च अटोमोबाइल कम्पनी पिएसए ग्रुप अन्तर्गतको सिट्रोन ब्राण्डको हो । नेपालमा यो गाडीको आधिकारिक बिक्रेता सांग्रिला मोटर्स हो । यो कारको अपग्रेडसहित फेसलिफ्ट समेत ल्याइसकेको छ ।

ईभी-९

नाडा अटो शो-२०२४ मा किया मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले चारवटा गाडी प्रदर्शनीमा राखेको छ । कम्पनीले मुख्य आकर्षणका रुपमा ईभी-९लाई प्रदर्शनीमा राखेको छ ।

यो हाइ रेन्जको गाडीको मूल्य १ करोड ८० लाख रुपैयाँ पर्छ । फुल चार्जमा साढे चार सय किमी रेन्ज दिन्छ । सिंगल मोटरमा नेपालमा आयात भएको छ । यो फुल एसयुभी गाडी हो । शोमा राखिएको ईभी सेग्मेन्टको यो सबैभन्दा महँगो कार हो ।

महिन्द्रा स्कर्पियो र एसयुभी ७००

महिन्दा स्कर्पियो जीपको मूल्य १ करोड १५ लाख ५० हजार रुपैयाँ पर्छ । यो स्कर्पियो ७ सिटर छ । फोर ह्‍विल हो ।
महिन्द्राकै एसयुभी ७०० गाडीको मूल्य १ करोड १० लाख रुपैयाँ पर्छ । यो फाई सिटर गाडी पनि आइसीई हो ।

जिकर एक्स

१० लाख रुपैयाँसम्म छुट दिएको चिनियाँ ब्राण्ड जिकरको टु ह्‍विल र फोर ह्‍विल अप्सनमा प्रदर्शनीमा राखिएको छ ।

टु ह्‍विल ड्राईभको ७९ लाख ९९ हजार रुपैयाँ पर्छ भने फोर ह्‍विलको १ करोड ४९ लाख रुपैयाँ पर्छ । यी दुई भेरियन्टमा मूल्यमा ठूलो अन्तर हुनुमा मोटर पावर मुख्य कारण हो ।

रियर ह्वील ड्राइभमा २०० किलोवाट र अल ह्वील ड्राइभमा ३१५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको छ । ४४० किमी रेन्ज दिने जिकर एक्समा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ ।

जिकर एक्सले २२ किलोवाट क्षमताको एसी चार्जर सपोर्ट गर्छ । यसमा रहेको एसी चार्जरले नै ४ घन्टामा गाडी फुल चार्ज गर्न सक्नेछ । डिसी चार्जर भने १५० किलोवाटसम्मको सपोर्ट गर्छ ।

ग्राण्ड भिटारा

सिजी मोटोकर्पले ल्याएको अल्फा प्लस (मनो टुन) इ सिभिटीको मूल्य १ करोड ९९ हजार रुपैयाँ पर्छ । भने अल्फा प्लस (डुयल टुन) इसिभिटीको २ करोड १२ लाख ९ हजार रुपैयाँ पर्छ ।

बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले सिलियन-७ ल्याएको छ । चिनियाँ ब्राण्डको यो कार चीन बाहिर पहिलोपल्ट नेपालमा सार्वजनिक भएको हो ।

यो लक्जरी कार तत्कालै बिक्री हुनेछैन । यसको मूल्य समेत सार्वजनिक भएको छैन ।

तस्बिर: युवराज भट्टराई

नाडा अटो शो सम्बन्धी थप समाचारका लागि यहाँ क्लिक गर्नुस्


क्लिकमान्डु