एनआईसी एशिया बैंकको ‘स्काई क्लब कार्ड’ले यती एयरलाइन्समा छुट



काठमाडौं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘स्काई क्लब कार्ड’ सार्वजनिक गरेको छ । भिषाको ब्रान्डेडको रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा कम्पनीका सबै ग्राहकहरूले प्राप्त गर्न सक्ने छन् ।

उक्त कार्डको प्रयोग गरेर एयरलाइन्सको टिकट खरिद गर्दा १० प्रतिशत छुटसहित अन्य सुविधाहरू उपलब्ध हुने गरी दुबै पक्षबीच समझदारी भएको कम्पनीले जनाएको छ ।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्स भुक्तानी गरी सबै प्रकारका टिकट काट्दा ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् भने प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा पनि पाइनेछ ।

एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ । साथै, उक्त कार्डको प्रयोग गरेवापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काई क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यो कार्ड लिनका लागि बैंकको शाखा कार्यालयमा पुगेर आवेदन दिनु पर्नेछ । यो सम्झौतापछि टिकट खरिदमा अधिकतम छूटका अलावा विभिन्न सेवाहरूमा विशेष छुट पनि प्राप्त हुने बैंकको भनाइ छ ।


क्लिकमान्डु