महिलालाई प्रधानमन्त्री बनाउने ओलीको भनाइमा आरजूको टिप्पणी: मलाई भनेको होइन होला !



कैलाली । परराष्ट्रमन्त्रीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले महिला प्रधानमन्त्रीबारे दिएको अभिव्यक्ति आफूलाई नभएको बताएकी छन् ।

केही साताअघि प्रधानमन्त्री ओलीले महिलालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका थिए । प्रधानमन्त्रीको भनाइ आरजुप्रति लक्षित रहेको कतिपयले अनुमान गरिरँदा उनले भने ओलीले आफूलाई नभइ आफ्नै दल एमालेका नेतृलाई लक्षित गरेर भनेको हुनसक्ने बताइन् ।

प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीको अभिव्यक्ति आफू केन्द्रित नभएको बताइन् ।

‘हाम्रो पार्टी अनुशासनमा चल्ने पार्टी हो । प्रधानमन्त्री बन्न पहिले संसदीय दलको नेता बन्नु पर्छ । बाहिरबाट हेर्दा एउटा देखिएला पार्टी भित्रै मेरो हैसियत कति छ मलाई थाहा छ,’ उनले भनिन्, ‘राम्रो कल्पना हो । म प्रधानमन्त्री ज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । तर, त्यो कुरा मलाई भन्नु भएको जस्तो लाग्दैन । उहाँको आफ्नै पार्टीको क्याडिडेट भएको जस्तो लाग्छ । हाम्रो बाट आगामी प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो ।’

उनले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै जाने समेत बताइन् । उनले २ वर्ष ओली प्रधानमन्त्री रहने र त्यसपछिको कार्यकाल शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको स्मरण गराइन् ।

कतिपयले दुई ठूला दल मिल्दा अनौठो मानेको भए पनि नेपालमा संकट आउँदा कांग्रेस र एमाले मिलेर सरकार बनाएको इतिहास पनि रहेको बताइन् ।


क्लिकमान्डु