पुँजी बजारमा अराजकता फैलन नदिने गरि कानुनी व्यवस्था हुन्छ: अर्थमन्त्री



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजारमा अराजकता फैलन नदिने गरि विधेयकमा व्यवस्था गरिएको बताएका छन् ।

बजारमा अनुशासन हीनता, स्वेच्छाचारिताका कृयाकलाप नहुने, लगानीकर्ता पीडित नहुने गरि कानुनको तयारी भएको उनको भनाइ छ ।

मंगलबार प्रतिनिधि सभाको बैठमा धितोपत्र सम्बन्धी संशोधन विधेयकमाथि सांसदहरुको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले वित्तीय साक्षरताको कमी र केही खेलाडीहरुले बजारलाई प्रभावित बनाउन सक्ने भन्दै त्यसलाई कम गर्न नियमनको प्रभावकारी प्रबन्ध हुने जनाए ।

भित्री कारोबार रोक्ने, सञ्चार माध्यम प्रयोग गरेर लगानीकर्ता प्रभाव पार्ने काम रोकिने, बजारलाई बबल बनाउन नदिने उनको भनाइ छ ।

लगानीकर्तालाई दिग्भ्रमित हुन नदिने अर्थमन्त्रीको दाबी छ ।

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त नभएको ८ महिना भएको स्मरण गर्दै उनले अध्यक्ष नियुक्ति गर्नका लागि सरकारले मनलाग्दी गर्न नपाउने बताए । सबै काम कानुनी रुपमा अघि बढ्ने उनको भनाइ छ ।

बोर्ड अध्यक्ष डिम्याट खाताका सदस्यले चयन गर्ने विषयलाई कानुनले छुट नदिएको उनको भनाइ छ ।

मन्त्री पौडेलले कानुनअनुसार योग्य र इमान्दार व्यक्तिलाई बोर्ड अध्यक्ष छान्ने दाबी गरे । बोर्डमा निरपेक्ष रुपमा दलको आस्थाइतरका व्यक्ति खोज्न सम्भव नरहेको उल्लेख गरे । बोर्डमा नियुक्त हुनेले काम गर्दा राजनीतिक दलको स्वार्थ हेर्न नहुने सुझाव दिए ।


क्लिकमान्डु