ट्रंक डेडिकेटेड लाइनको २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद‍्बाट गर्न ओलीलाई प्रचण्डको चुनौती



काठमाडौं । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ट्रंक डेडिकेटेड लाइनको २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद‍्बाट गर्न सरकारलाई चुनौती दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा प्रस्ताव गरेर नभइ मन्त्रिपरिषद्बाट निर्णय गर्न चुनौती दिए ।

‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याविनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैं हो, ’प्रचण्डले प्रश्न भने,‘प्राधिकरणलाई आफ्नो काम आफैं गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ?’

उनले क्याबिनेटमा २२ अर्बको प्रस्ताव आएन भने देशले प्रधानमन्त्री ओलीको नियत राम्ररी बुझ्ने बताए ।

प्रधानमन्त्री ओलीले पैसा उठाउन लाइन काटिएका उद्योगमा बिजुली जोड्न निर्देशन दिएको उनको भनाइ छ ।

‘पैसा उठाउन केही उद्योगको लाइन काटियो पनि । तर, त्यो लाइन जोड्न ठाडो निर्देशन दिने को हो ? प्रधानमन्त्री ओली । पछि तीनतीन जना मन्त्री र सचिवसहितको समिति बनाएर अर्को निर्देशन नभएसम्म लाइन तत्काल जोड्न र थप लाइन नकाट्न आदेश दिने को हो ? त्यो पनि प्रधानमन्त्री केपी ओली । त्यही समितिले बीचको अवधिको मात्र महसुल उठाउन गरेको सिफारिस कार्यान्वयन गर्न मन्त्रीपरिषद्बाटै निर्णय गर्ने को ? प्रधानमन्त्री केपी ओली । अनि अहिले पैसा कसले घटायो भनेर फेसबुकबाट सोध्ने को ? त्यो पनि केपी ओली ।’

प्रचण्डले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउनका लागि मन्त्रिपरिषद्बाट स्पष्टीकरण सोधेर अहिले पानीमाथिको ओभानो बन्न खोजेको आरोप ओलीमाथि लगाए ।


क्लिकमान्डु