प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भदौ १४ गतेदेखि



काठमाडौं । विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ भदौ १४ गतेदेखि सुरु हुने भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरुमाथि परेको उजुरीसहितको सुनुवाइ भदौ १४ गतेबाट शुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो ।

भदौ २१ गते तिज, २२ गते शनिवार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।

‘पहिलो दिन हामीले ४ जना राखेका छौं । यसलाई धेरै नलम्ब्याऔं । उहाँहरुको सुनुवाइ सकिनेबित्तिकै निर्णय गर्नुभन्दा अघि परराष्ट्र मन्त्रीज्युसँग पनि छलफल गर्ने नै छौं । १४ गते उजुरीकर्ताको उजुरी सुन्ने । त्यसपछि १६, १७ , १८ र १९, २० गते हाम्रो निरन्तर जान्छ । त्यसपछि २१, २२ र २३ एक दिन गते बिदा हुन्छ । एक दिन शनिवार परेको र पञ्चमी । तिज भएकाले बिदा हुन्छ । २४ र २५ फेरि हामो निरन्तर जान्छ । त्यो बीचमा हामीले परराष्ट्र मन्त्रीसँग पनि छलफल गर्छौं । उजुरी धेरै नपरेकाले त्यसमा अझ बढी छिटो हुन पनि सक्छ,’ उनले भनिन् ।

समितिको आजको बैठकमा उजुरीकर्ताहरुको उजुरी खोली समितिका सदस्यहरुलाई वितरण समेत गरिएको छ । समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ


क्लिकमान्डु