विराटनगरमा महिला उद्यमशीलता प्रर्दशनी हुने




विराटनगर । महिला उद्यमीले उत्पादन गरेका औद्योगिक सामानको बजारीकरण गर्ने र प्रदेशभरका महिला उद्यमीलाई एउटै मञ्चमा भेला गरेर आपसमा अनुभव साटासाट गराउने उद्देश्यले प्रदर्शनी हुने भएको छ ।

मोरङ व्यापार उद्योग संघको महिला उद्यम समितिले भदौ १४ देखि १६ सम्म महिला उद्यमशीलता प्रर्दशनी गर्ने तयारी गरेको हो।

विराटनगरको सिटी प्यालेसमा सञ्चालन हुने तीनदिने प्रर्दशनीमा ६० वटा स्टल रहने र प्रर्दशनीमा महिलाले उपभोग गर्ने सामग्रीको पनि प्रर्दशनी हुने महिला उद्यम समितिकी अध्यक्ष श्रृती शर्माले जानकारी दिइन् ।

उनका अनुसार प्रर्दशनीमा महिलाको पर्व हरितालीका तीज सम्बन्धी कार्यक्रमको पनि आयोजना गरिने छ । त्यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, क्यानभास प्रर्दशनीसहित तीज क्वीन प्रतियोगिताको पनि आयोजना हुने शर्माले बताइन् ।

उनकाअनुसार प्रर्दशनीमा मिस नेपाल आस्माकुमारी केसीको पनि सहभागीता रहने छ ।

प्रर्दशनीमा कोशी प्रदेशभरीका महिला उद्यमीलाई समावेश गर्ने तयारी गरिएको संघका कार्यकारी निर्देशक कृष्ण रेग्मीले बताए । प्रदेशभरी हजारौं महिला उद्यमी छन् ।

रेग्मीले भने ,’ति उद्यमीले उत्पादन गरेका औद्योगिक सामग्रीको अन्तरजिल्ला बजारीकरण गर्ने र लगानी संभाव्यताको पनि खोजी गरिने लक्ष्य छ ।’


क्लिकमान्डु