रविलाई मुकुलको जवाफः सिंहको मुटु छ भनेर भाषण गर्नेसँग फिस्टे चराको जत्रो पनि छैन

आफ्नो बिद्रोह रविजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाईं



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पार्टीका सभापति रवी लामिछानेलाई लिखित जवाफ दिएका छन् । ढकालले लामिछानेले भदौ ५ गते लेखेको पत्रको लिखित जवाफ दिँदै ढकालले लामिछानेले आफूसँग सिंहको मुटु छ भने भाषण गरेको भए पनि फिस्टो चराको जत्रो पनि मुटु नभएको व्यक्ति भनेका छन् ।

ढकालले लामिछानेसँग आफूलाई गरिएको भनिएको कारवाहीको कागजात प्रमाणहरूको प्रमाणित प्रतिलिपि उपलब्ध गरिपाऊँ भनी पत्र लेखेको भए पनि पार्टी कार्यालयमा दर्ता नगरी उल्टै स्पष्टीकरणको पत्र पठाएका थिए । आफूले मेरो माग बमोजिम प्रमाणहरूको प्रतिलिपि माग गरिएको पत्र दर्ता गरी सो बमोजिम कागजात उपलब्ध गराउनको सट्टा यसरी फेरी स्पष्टीकरण सोध्नाले रविले पार्टीमा विधि विधान विपरीत, थितिरहित हैकमे निरंकुश शासन चलाइरहेको स्पष्ट हुने ढकालको दाबी छ ।

उनले आफूले पार्टीको विधान र आचारसंहिता विपरीत कार्य नगरेको तर उल्टै पार्टी जोगाउन लडिरहेको बताएका छन् । पार्टीलाई रवि लामिछानेको निरंकुशता, व्यक्ति केन्द्रित व्यवहार र सोचबाट जोगाउन लागिपरेको दाबी गरेका छन् । रवि उपर सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लाग्नु नभएको भन्दै उनले प्रश्नका माध्यमबाट पार्टी शुद्धीकरण गर्न पाउने नेपालको संविधानले नै दिएको लोकतान्त्रिक र राजनीतिक अधिकार भएको बताएका छन् ।

रवि लामिछानेले सहकारीमा ठगी गरेको, मन्त्री हुँदा भ्रष्ट्राचार गरेको र तपाईं राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर प्रमाणित गर्न ढकालको दाबी छ । उनले पत्रमा भनेका छन्, ‘सहकारी मुद्दामा तपाईं ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईं कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न । यीसँगै अन्य धेरै ठाउंमा किर्ते ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईं दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ ।’

मुकुलका अनुसार रविकले आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरेकोबारे आफू छर्लङ्गै रहेको भन्दै पार्टीमा रविले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले आफ्नो कर्तव्य रहेको पनि बताएका छन् ।

रविलाई लेखेको जवाफी पत्रमा उनले भनेका छन्, ‘आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ, र प्रश्न गर्नेलाई कारवाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् ।’

पार्टी स्थापना गर्दा लोकतान्त्रिक पार्टीको परिकल्पना गरेको तर २ वर्ष नबित्दै पार्टीको लोकतन्त्र शब्दमा मात्र सीमित भएको भन्दै मुकुलले नेपाली जनताले पटक पटक बलिदानी र त्याग गरेर ल्याएको लोकतन्त्र रविको निरंकुशतासँग नहार्ने बताएका छन् । ‘सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन । उल्टै भ्रष्ट्राचारमा लिप्त हुनु भयो,’ मुकुलले भनेका छन्, ‘तपाईंजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टी विपरीत होइन । यसरी म पार्टी र जनताको हितका लागि लडिरहंदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारवाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी विपरीत म होइन तपाईं लाग्नु भएको छ ।’

पार्टीलाई स्वार्थको झुन्डबाट बचाउन आफूले केही कदमहरू चालेकै हो र त्यो कदमलाई रविले पार्टीको हित विपरीत भन्नु सरासर गलत भएके भन्दै उनले भनेका छन्, ‘मैले उल्लेख गरेका सबै कुरा म प्रमाणित गर्न सक्छु। पार्टीको प्रस्तावनामा नै रास्वपा बहुलवादी लोकतान्त्रिक पार्टी रहेको उल्लेख छ । अध्ययन गर्ने बानी त तपाईंमा छैन, तर पनि बहुलवादी लोकतान्त्रिक पार्टी भनेको के हो, विश्वव्यापी मान्यता के छन्, अध्ययन गर्नुहोस् ।’

मुकुलले आफूले गरेको बिद्रो रविजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाईं भएको बताएका छन् ।


क्लिकमान्डु