बाघको पोस्टमार्टम रिपोर्ट: घाइते र भोको बाघको टाउको र पछिल्लो भागमा घाउ



चितवन । मकवानपुरको मनहरीस्थित एकजना किसानको गोठमा पालेको भैँसीले बाघ मारेपछि त्यसबारे चर्चा चलिरहेको छ । मनहरी गाउँपालिका–६ प्रतापपुरका बलबहादुर राईको गोठमा रहेको भैँसीले चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको बाघलाई मारेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान भैँसीको प्रतिकारमा बाघ मरेको हो । बाघको आक्रमणबाट भैँसी घाइते भएको छ । यस्तो घटना निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पहिलो हो ।

‘मरेको बाघ बुढो र दुब्लो देखिन्छ । निकुञ्जभित्र सिकार गर्न नसकेर आहाराको खोजीमा बाहिर निस्केको हुनसक्छ’, उनले भने । बाघ मरेपछि शव परीक्षणका राष्ट्रिय निकुञ्ज लगिएको थियो ।

पोस्टमार्टममा संलग्न पशुचिकित्सकका अनुसार भैंसीको प्रतिकारमा मरेको बाघ पहिलेदेखि नै घाइते र अशक्त रहेको पाइएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा मृत बाघको पोस्टमार्टम गरिएको हो ।
पोस्टमार्टममा संलग्न निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा.विजय श्रेष्ठले उक्त बाघको शरीरका विभिन्न ठाउँमा पुराना घाउचोट भेटिएको जानकारी दिए । उक्त बाघ ८ वर्षजति उमेरको भएको उनले बताए ।

‘अर्को बाघसँग जुधेर भएका घाउचोट धेरै थिए । ति घाउँ कम्तीमा १०/१५ दिन पुरानो हुन् । नयाँ घाउ दुई ठाउँमा मात्रै थियो,’ डा.श्रेष्ठले भने ।

अशक्त भएका कारण भोकमार्नका लागि बस्ती छिरेको बाघ भैंसीको गोठमा पुगेको र भैंसीले पनि आफ्नो रक्षाका क्रममा हान्दा बाघको संवेदनशील स्थानमा लागेर मृत्यु भएको हुन सक्ने उनले बताए ।

‘घाइते र अशक्त बाघले जंगलमा सिकार गर्न गाह्रो हुन्छ । त्यसैले गाउँ आएर सजिलो सिकारको खोजी गरेको हुन सक्छ । भैंसी भेटेपछि त्यसैलाई आक्रमण गर्‍यो । तर भैंसीले पनि प्रतिवाद गर्‍यो । टाउकोमा र शरीरको पछिल्लो भागमा एउटा एउटा नयाँ घाउ छ । टाउकोको चोटले सायद ज्यान नै गयो,’ डा.श्रेष्ठले भने । पोष्टमर्टम गर्दा बाघको शरीरमा हड्डी र छालामात्रै रहेको उनले बताए ।

बाघ भोकाएकोले भैंसी देख्नासाथ झम्टिएको र भैंसीले पहिले बाघको पछाडिको भागमा अनि टाउकोमा हानेर ढालिलिएको हुन सक्ने श्रेष्ठको अनुमान छ । पहिल्यै घाइते भएको बाघ दुब्लाएर अत्यन्त कमजोर देखिएको श्रेष्ठले बताए ।


क्लिकमान्डु