त्रिभुवन विश्विद्यालयको जग्गा आधाआधार गरेर पार्टी कार्यालय बनाउन सांसदको सुझाव



काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा (एमाले)लाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिए ।

बिहीबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले कांग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर लिन सुझाव दिएका छन् ।
उनले नेपाली विद्यार्थीहरुलाई विदेशमा लखेटेर त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको राजनीति गरेको भन्दै सम्पति बाँडफाँट गरेर दलको नाममा दर्ता गर्न र पार्टी कार्यालय खोल्न सुझाव दिए ।

भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कोसिस भइरहेको भन्दै ठूला दलहरुले आफूलाई चोख्याउनका लागि हदम्याद राख्न लागिएको बताए । उनले हदम्याद राखेर भ्रष्टाचारलाई चोख्याउन दिनु नहुने बताए ।

‘दुई वटा दलले त्रिभुवन विश्वविद्यालयको सम्पती आधा आधा बाँडेर आधा आधामा पार्टी कार्यालय बनाऔँ । आधा कांग्रेस, आधा एमाले बाँडौं,’ उनले भने, ‘किनकी विद्यार्थीलाई त सबैलाई विदेशमा लखेटेकै हो । दुई दलको सरकार छ अहिले यही मौका छ कि त्रिभुवन विश्वविद्यालयमा त्यत्रो ३३ सय रोपनी जग्गा छ, बाँडेर दलको नाममा दर्ता गरौँ । किनकी यो देश जनताको होइन, दलको मात्रै हो ।’

सांसद सिंहले भ्रष्टाचारलाई चोख्याउने र भ्रष्टाचार संरक्षक देश बनाउन खोजिएको भन्दै त्यसप्रति आपत्ति जनाए ।


क्लिकमान्डु