स्थानीय तहको उपनिर्वाचनमा रास्वपाले भाग लिने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले स्थानीय तहको उपनिर्वाचनमा आफ्नो पार्टीले भाग लिने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासामा संक्षिप्त प्रतिक्रिया दिँदै उनले रास्वपाले स्थानीय तहको उपनिर्वाचनमा भाग लिने जानकारी दिए । उनले निर्वाचनका लागि कुन ढंगले अगाडि बढ्ने भनेर पार्टीभित्र छलफल प्रारम्भ भएको पनि बताए ।

पार्टी निर्वाचनमा कसरी जाने भन्ने सन्दर्भमा थप छलफल गरेर निस्कर्षमा पुगिने उनको भनाइ छ । ‘राजनीतिक दल भाग नलिने भन्ने कुरै छैन । कुन ढंगले भनेर हाम्रो छलफल भइरहेको छ । थप छलफल गर्दैछौँ कसरी, कुन तरिकाले जाने त्यसको वर्कआउट गर्छौं । बल्ल शुरुवात भएको छ,’ नेता लामिछानेले भने ।

देशभरमा नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडा अध्यक्ष गरी ३४ पदमा रिक्त रहेको निर्वाचन आयोगले जनाएको छ । सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहँदा रास्वपाको धारणा सार्वजनिक भएको हो ।

यसअघि २०७९ मा भएको आम निर्वाचनका बेला रास्वपाले स्थानीय तह र प्रदेशको निर्वाचनमा भाग नलिएर संघीय निर्वाचनमा मात्रै भाग लिएको थियो ।


क्लिकमान्डु