सांसदहरुबीच असमानता हटाउन निर्वाचन प्रणाली संशोधन गरिँदै



काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाका सदस्यहरुबीचको असमानता हटाउन नेपाली कांग्रेस र नेकपा एमालेबीच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति भएको बताएका छन् ।

मंगलबार काठमाडौंमा स्व. प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसर पारेर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले चुनाव जितेकाले क वर्ग र समानुपातिबाट चयन भएका सांसदले ख वर्गको ठान्ने परिपाटी अन्त्य गर्न निर्वाचन प्रणालीमा परिवर्तन गर्न जरुरी रहेको बताए ।

यसमा नेकपा (माओवादी केन्द्र), मधेसवादी दलहरुले पनि असहमति प्रकट गर्न नसक्ने उनको भनाइ थियो । इतिहासका विभिन्न चक्र र कालखण्डमा विचलित हुँदा विचारको नेतृत्व गर्नेहरुले नै सही बाटो देखाएको स्मरण गर्दै अहिलेको सन्दर्भमा समावेशिताको आधारमा बनाएको संविधानमा चुनाव प्रणालीमा असमानता रहेको नेता पोखरेलले बताए ।

महासचिव पोखरेलले भने, ‘अहिलेको सन्दर्भमा समावेशिताको आधारमा हामीले बनाएको संविधानमा जुन प्रकारको चुनाव प्रणाली अवलम्वन गरेका छौं, समानताका लागि भन्छौँ तर यथार्थ रुपमा भन्ने हो भने प्रतिनिधिसभाका सदस्यहरुभित्रै असमानता छ । चुनाव जितेकाहरुले क वर्गको ठान्ने, समानुपातिकबाट आएकाले ख वर्गको ठान्ने । जे चिजबाट हामी समाजलाई समानताको जगमा खडा गर्ने कुरा गर्दैछौँ, निर्वाचन प्रणालीका कारणले त्यही असमानताको कारण बनेको छ भने त्यसले समाजलाई सकारात्मक परिवर्तन गर्नसक्छ ?’

महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमति तत्कालै बाहिर नल्याउनुको कारण नेकपा (माओवादी केन्द्र) लाई पनि राष्ट्रिय सहमतिको सरकारमा जोडिनका लागि रहेको बताएका थिए ।


क्लिकमान्डु