वाह्य क्षेत्र बलियो अवस्थामा: सञ्चिति १५ अर्ब २७ करोड डलर पुग्यो, १३ महिना आयात धान्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक स्थितिको तथ्यांक अनुसार अर्थतन्त्रको वाह्य क्षेत्र थप बलियो अवस्थामा पुगेको छ ।

एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति ३०.४ प्रतिशतले बढ्दा वाह्य क्षेत्र बलियो भएको हो । शोधान्तर स्थित ५ खर्ब २ अर्बले बचतमा हुनुको साथैं चालु खाताको बचत समेत नितन्तर बढ्दा समग्र विदेशी मुद्राको सञ्चिति बढेको हो ।

राष्ट्र बैंकले प्रकाशित गरेको देश वर्तमान आर्थिक स्थितिको तथ्यांक अनुसार एक वर्षको अवधीमा विदेशी मुद्राको सञ्चिति बढेर १५ अर्ब २४ करोड डलर पुगेको हो ।

गत वर्ष असार मसान्तमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७१ करोड डलर थियो ।

हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले गत वर्षको आयातका आधारमा १३ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेछ ।

गत वर्ष १.२ प्रतिशतले आयात घटेको अवस्थामा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले वृद्धि हुँदा समग्र वाह्य क्षेत्रमा ठूलो सुधार देखिएको हो । सरकार र नियामक निकायको मेहनतपूर्ण प्रयास भन्दा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्चदरमा बढ्दा समग्र वाह्य क्षेत्रमा सुधार देखिएको हो ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा एक तर्फ आन्तरिक खपत घटेको छ भने अर्को तर्फ रेमिट्यान्स आप्रवाहमा सुधार भएको छ । यस्तै, अर्कोतर्फ उपभोग घट्दा आयातमा गिरावट आएको छ ।

गत आर्थिक वर्षमा नेपालले १५ खर्ब ९२ अर्ब रुपैयाँको आयात गर्दा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको आयात गरेको थियो । अघिल्लो वर्ष नेपालले १६ खर्ब १० अर्ब रुपैयाँ बराबरको आयात गर्दा १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

यस्तै, गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा गत वर्ष १० अर्ब ८६ करोड डलर रेमिट्यान्स आएको राष्ट्र बैंकले प्रकाशति गरेको तथ्यांकमा उल्लेख छ ।

रेमिट्यान्स आप्रवाहमा भएको सुधार र आयातमा आएको गिरावटले गत वर्ष चालु खाता २ खर्ब २१ अर्ब रुपैयाँले बचतमा गएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले बचतमा थियो ।

रेमिट्यान्स आय, निर्यात तथा अन्य चालु प्रकृतिको आम्दानीले आयात धान्न पुग्दा चालु खाता बचतमा गएको हो ।

चालु खाता बचतमा हुँदा शोधानान्तर स्थिति (नेपालमा भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) ५ खर्ब २ अर्ब रुपैयाँले बचतमा छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा भएको सुधारले अर्थतन्त्रको वाह्य क्षेत्र बलियो अवस्थामा पुगेको देखाएको छ ।

तर, आगामी दिनमा उच्चदर आयात बढ्दै गए हाल देखिएको वाह्य क्षेत्रको सुधार दीगो नहुने सम्भावना छ । आन्तरिक उत्पादन बढेर वा उपभोगको प्रकृति फेरिएर विदेशी मुद्राको सञ्चिति बढेको भए हालको सुधार दीगो हुने थियो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले बढेको तथा निजी क्षेत्रमा जाने कर्जा ५.८ प्रतिशतले बढेको तथ्यांकले समग्र बैंकिङ क्षेत्रमा ठूलो सुधार नभएको इंगित गर्छ ।

गत वर्ष १०.०३ प्रतिशत रहेको आधार दर ८ प्रतिशतमा झर्नुको साथैं बाणिज्य बैंकको कर्जाको औसत ब्याजदर १२.३ प्रतिशतबाट ९.९३ प्रतिशतमा झर्नु उद्योगी व्यवसायीको लागी सकारात्मक छ ।

बाणिज्य बैंकहरुको औसत निक्षेप संकलन दर ७.८६ प्रतिशतबाट झरेर ५.७७ प्रतिशत पुग्दा कर्जाको ब्याजदर घटेपनि निक्षेपकर्तालाई भने नोक्सान भएको छ ।

गत वर्षको औषत महँगी ५.४४ प्रतिशत भन्दा मुनी निक्षेपको ब्याज पुगिसकेकाले आगामी दिनमा फेरी निक्षेप खोसाखोस बढ्ने जोखिम छ । महँगी वृद्धिदर भन्दा बैंकको ब्याज कम भए पुँजी पलायत समेत बढ्ने जोखिम हुने गर्छ ।


क्लिकमान्डु