कस्तो छ देशको आर्थिक स्थिति ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आइतबार सार्वजनिक गरेको विवरणअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।

आयात १.२ प्रतिशतले र निर्यात ३० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति ५०२ अर्ब ४९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८५ अर्ब ८२ करोड रुपैयाँले बचतमा रहेको थियो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको
छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप ६४ खर्ब ५२ अर्ब रुपैयाँ र निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ ।

तथ्यांक अनुसार अर्थतन्त्रको वाह्य क्षेत्र थप बलियो अवस्थामा पुगेको छ ।

एक वर्षको अवधिमा विदेशी मुद्राको सञ्चिति ३०.४ प्रतिशतले बढ्दा वाह्य क्षेत्र बलियो भएको हो । शोधान्तर स्थित ५ खर्ब २ अर्बले बचतमा हुनुको साथैं चालु खाताको बचत समेत नितन्तर बढ्दा समग्र विदेशी मुद्राको सञ्चिति बढेको हो ।

राष्ट्र बैंकले प्रकाशित गरेको देश वर्तमान आर्थिक स्थितिको तथ्यांक अनुसार एक वर्षको अवधीमा विदेशी मुद्राको सञ्चिति बढेर १५ अर्ब २४ करोड डलर पुगेको हो ।

गत वर्ष असार मसान्तमा विदेशी मुद्राको सञ्चिति ११ अर्ब ७१ करोड डलर थियो ।

हाल कायम रहेको विदेशी मुद्राको सञ्चितिले गत वर्षको आयातका आधारमा १३ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेछ ।

गत वर्ष १.२ प्रतिशतले आयात घटेको अवस्थामा रेमिट्यान्स आप्रवाह १४.५ प्रतिशतले वृद्धि हुँदा समग्र वाह्य क्षेत्रमा ठूलो सुधार देखिएको हो । सरकार र नियामक निकायको मेहनतपूर्ण प्रयास भन्दा पनि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्चदरमा बढ्दा समग्र वाह्य क्षेत्रमा सुधार देखिएको हो ।

वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा एक तर्फ आन्तरिक खपत घटेको छ भने अर्को तर्फ रेमिट्यान्स आप्रवाहमा सुधार भएको छ । यस्तै, अर्कोतर्फ उपभोग घट्दा आयातमा गिरावट आएको छ ।

गत आर्थिक वर्षमा नेपालले १५ खर्ब ९२ अर्ब रुपैयाँको आयात गर्दा १ खर्ब ५२ अर्ब रुपैयाँ बराबरको आयात गरेको थियो । अघिल्लो वर्ष नेपालले १६ खर्ब १० अर्ब रुपैयाँ बराबरको आयात गर्दा १ खर्ब ५६ अर्ब रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

यस्तै, गत आर्थिक वर्षमा १४ खर्ब ४५ अर्ब रुपैयाँ रेमिट्यान्स आएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा गत वर्ष १० अर्ब ८६ करोड डलर रेमिट्यान्स आएको राष्ट्र बैंकले प्रकाशति गरेको तथ्यांकमा उल्लेख छ ।

रेमिट्यान्स आप्रवाहमा भएको सुधार र आयातमा आएको गिरावटले गत वर्ष चालु खाता २ खर्ब २१ अर्ब रुपैयाँले बचतमा गएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष चालु खाता ४६ अर्ब ५७ करोड रुपैयाँले बचतमा थियो ।

रेमिट्यान्स आय, निर्यात तथा अन्य चालु प्रकृतिको आम्दानीले आयात धान्न पुग्दा चालु खाता बचतमा गएको हो ।

चालु खाता बचतमा हुँदा शोधानान्तर स्थिति (नेपालमा भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) ५ खर्ब २ अर्ब रुपैयाँले बचतमा छ ।

राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार रेमिट्यान्स आप्रवाहमा भएको सुधारले अर्थतन्त्रको वाह्य क्षेत्र बलियो अवस्थामा पुगेको देखाएको छ ।

तर, आगामी दिनमा उच्चदर आयात बढ्दै गए हाल देखिएको वाह्य क्षेत्रको सुधार दीगो नहुने सम्भावना छ । आन्तरिक उत्पादन बढेर वा उपभोगको प्रकृति फेरिएर विदेशी मुद्राको सञ्चिति बढेको भए हालको सुधार दीगो हुने थियो ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३ प्रतिशतले बढेको तथा निजी क्षेत्रमा जाने कर्जा ५.८ प्रतिशतले बढेको तथ्यांकले समग्र बैंकिङ क्षेत्रमा ठूलो सुधार नभएको इंगित गर्छ ।

गत वर्ष १०.०३ प्रतिशत रहेको आधार दर ८ प्रतिशतमा झर्नुको साथैं बाणिज्य बैंकको कर्जाको औसत ब्याजदर १२.३ प्रतिशतबाट ९.९३ प्रतिशतमा झर्नु उद्योगी व्यवसायीको लागी सकारात्मक छ ।

बाणिज्य बैंकहरुको औसत निक्षेप संकलन दर ७.८६ प्रतिशतबाट झरेर ५.७७ प्रतिशत पुग्दा कर्जाको ब्याजदर घटेपनि निक्षेपकर्तालाई भने नोक्सान भएको छ ।

गत वर्षको औषत महँगी ५.४४ प्रतिशत भन्दा मुनी निक्षेपको ब्याज पुगिसकेकाले आगामी दिनमा फेरी निक्षेप खोसाखोस बढ्ने जोखिम छ । महँगी वृद्धिदर भन्दा बैंकको ब्याज कम भए पुँजी पलायत समेत बढ्ने जोखिम हुने गर्छ ।

एक वर्षमा साढे १४ खर्बको रेमिट्यान्स भित्रियो, ७ लाख ४१ हजार जना बिदेसिए
काठमाडौं । गत आर्थिक वर्षमा साढे १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।

आव २०८०/८१ मा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२.५ प्रतिशतले बढेको थियो ।

विदेश पढ्न जाने विद्यार्थीले साथमा लगे १ खर्ब २५ अर्ब रुपैयाँ

काठमाडौं । नेपाली विद्यार्थीहरु विदेश पढ्न जाँदा साथमा सवा खर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा लगेका छन् । गत आर्थिक वर्षमा विद्यार्थीहरु विदेश पढ्न जाँदा विदेशी मुद्राको ढुकुटीबाट १ खर्ब २५ अर्ब रुपैयाँ खर्च भएको हो ।

नेपाली विद्यार्थीहरुका लागि युरोपेली तथा अमेरिकी देश र अस्ट्रेलिया तथा जापान जस्ता शैक्षिक गन्तव्य रोजाइ बन्ने गरेको छ । ती देश जाने क्रममा विद्यार्थीहरुले साथमा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ खर्च भएको हो ।

यसरी अध्ययनका लागि बिदेसिन विद्यार्थीका कारण गत वर्ष डलर ढुकुटीमा १ खर्ब रुपैयाँको प्रभाव परेको थियो ।

शिक्षतर्फको भ्रमण व्यय बढ्दा शोधनान्तर स्थितिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ३१.१ प्रतिशतले बढेको छ । विदेश घुम्न जानेले १ वर्षमा कुल १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ खर्च गरेका हुन् ।

अघिल्लो वर्ष भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड थियो ।

महंगिदर २.३% घट्यो, मरमसला सस्तियो

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को वार्षिक महंगिदर ५.४४ प्रतिशत मात्रै रहेको छ ।

गत आर्थिक २०८०/८१ मा भएको यस्तो औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २.३ प्रतिशतले घटेको छ । गत वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।

तथ्यांक अनुसार गत वर्ष सबैभन्दा बढी मूल्य मरमसला सस्तिएको छ । उक्त वर्ष मरमसलामा २६ प्रतिशतले मरमसला सस्तो भएको उल्लेख छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ ।

गत वर्ष घ्यू तथा तेल उप–समूहको मूल्य सूचकाङ्क १०.९९ प्रतिशतले घटेकोछ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप–समूहको मूल्य सूचकाङ्क ०.८२ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।


क्लिकमान्डु