सोलुखुम्बु बाढी: तीन घर बगायो, ७ जनाको उद्धार
काठमाडौं । सोलुखुम्बुको थामे गाउँमा भीषण बाढीले तीन घर बगाएको छ । बाढीका कारण प्रभावित ७ जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
लेदोसहितको बाढीका कारण दर्जन घर जोखिममा परेका छन् । छिमेकी दुधकोसी गाउँपालिका प्रमुख असिम राईले बाढीले प्रभावित भएको क्षेत्रमा प्रहरी गइरहेको जानकारी दिए ।
माप्यबाट खुम्बु जोड्ने दुधकोशी माथिको मोटरेबल मितेरी पुल बाढीको जोखिममा परेको स्थानीयको भनाइ छ ।
भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ प्रभावित भएको छ ।
स्थानीय पासाङ सोनाम शेर्पाले खोलामा ठूलो बाढी आएको जानकारी दिए । केही दिनदेखि वर्षा भइरहे पनि यति ठूलो बाढी आउने अवस्था नभएकोले माथिल्लो भेगमा हिमताल फुटेको हुन सक्ने स्थानीयको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (क्षेत्री) ले पनि बाढी आएको जानकारी दिँदै हिमताल फुटेको वा हिमपहिरो गएको यकिन नभएको बताइन् । दुधकोशी सोलुखुम्बु र खोटाङबबिच हुँदै बग्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कताका लागि अनुरोध गरेको छ ।
प्राधिकरणले सोलुखुम्वु जिल्ला खुम्वु पासाङल्हामु गाउँपालिका वडा न ५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्वुको जोरसल्लेदेखि तल दुधकोशीको तटिय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।