गठ्ठाघरमा ट्रकले यसरी दियो स्कुटरलाई ठक्कर (सीसीटीभी भिडियो)



भक्तपुर । बिहीबार दिउँसो १ बजेर ५९ मिनेटमा भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दियो । ना६ख २१७३ नम्बरको मालवाहक ट्रकले बा ३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

तीब्र गतिको ट्रकले बिस्तारै हिँडिरहेको स्कुटरलाई ठक्करमात्र दिएन, झण्डै २० मिटर मिटर परसम्म घिसारेर लग्यो । स्कुटर चालकको शरीर क्षतविक्षत भयो ।

यसअघि ट्राफिक चेक जाँचमा रोकिएको स्कुटरलाई ट्रकले ठक्कर दिएको स्थानीयले बताएको भए पनि सीसीटीभी फुटेजमा भने कम गतिमा कुदिरहेको स्कुटरलाई ट्रकले ठक्कर दिएको देखिएको छ ।

दुर्घटनामा परेको स्कुटरभन्दा अघि सर्भिस लेनतिरबाट दाहिनेतिर एउटा बाइक कट्टछ । त्यसको पछिपछि आइरहेको स्कुटर ट्रकको अगाडि पर्छ र ट्रकले त्यसलाई सोहरेर केही अघि बढ्छ । ट्रकले स्कुटरलाई घिसार्दा नै स्कुटर चालकको शरीर क्षतविक्षत भइसकेको हुन्छ ।

नजिकै रहेका तीन जना ट्राफिक मध्ये एक जना कुद्दै ट्रक भएतिर जान्छन् । ट्रक रोकिनासाथ एकजना ट्रकबाट झर्छन् भने अर्को ढोकाबाट ड्राइभर निस्किएर भागेको सीसीटीभी फुटेजमा देख्न सकिन्छ ।

दुर्घटना हुनेवित्तिकै वरपर मानिस जम्मा भए । त्यो भीड आक्रोशित र एकत्रित भयो । चालक फरारसँगै आक्रोशित भीड प्रहरीमाथि खनियो ।

ट्राफिक प्रहरीले सडकमा जथाभावी ‘स्पीड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भीड ट्राफिक प्रहरीमाथि नै जाइ लाग्यो । सडकमा बसेका ट्राफिक प्रहरीको भागभाग भयो । आक्रोशित भीडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्‍यो । त्यसपछि आक्रोशित भीड र प्रहरीबीच ढुङ्गा हानाहान भयो । स्थिति निकै तनावग्रस्त बन्यो ।

केही प्रदर्शनकारी र केही प्रहरी घाइते भए । प्रहरीले प्रर्दशनकारीमाथि लाठीचार्ज गर्‍यो । स्थिति नियन्त्रणमा नआएपछि प्रहरीले अश्रु ग्यास प्रहार गर्‍यो ।

तनावकाबीच प्रहरीले शव झिक्न निकै प्रयास गर्‍यो । टायरमुनि शव परेकाले तान्दा पनि आएन । त्यसपछि क्रेन ल्याएर शव झिक्न खोज्दा आक्रोशित भीडले अवरोध गरेपछि स्थिति पुनः तनावग्रस्त भयो ।

भीड नियन्त्रणका लागि भक्तपुरका एक सय १८ जना प्रहरी, काठमाडौँबाट आएका एक सय ३० जना प्रहरी र सशस्त्रका एक सय २३ जना परिचालन भएको प्रहरीले जनाएको छ । घटनापछि आक्रोशित भीडले प्रहरी बीट, ट्राफिक आइरल्याण्ड र प्रहरीका विभिन्न सामग्री तोडफोड गरेका छन् ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले पाँच घण्टापछि शव निकालेर सडक खुलाइएको जानकारी दिइन् । भीड नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आठ राउन्ड र नेपाल प्रहरीले २२ राउन्ड अश्रु ग्यास प्रहार गरेको जानकारी प्रजिअ श्रेष्ठले बताइन् ।

घटना भएको ६ घण्टापछि मृतक पुरुष रहेको पहिचान भएको छ । प्रजिअ श्रेष्ठले मृतक महिला नभई पुरुष भएको खुलेको जानकारी दिइन् ।

प्रनाउ कार्कीले मृतकको साथबाट ओखलढुङ्गाका ४५ वर्षीय उत्तम कोइराला नाममा जारी सवारीचालक अनुमतिपत्र भेटिएको जानकारी दिइन् ।

दुर्घटनामा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–४ छहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भएको छ । उनको शव आफन्तले सनाखत समेत गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद बिष्टले जानकारी दिए ।

घटनामा संलग्न ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ ।


क्लिकमान्डु