राष्ट्र बैंकको ढुकुटी बनाउने जिम्मा बतास समूहलाई



काठमाडौं । नेपाल राष्ट्र बैंकको थापाथलीमा निर्माणाधीन भवनको भल्ट बनाउने जिम्मा बतास समूहले पाएको छ । केन्द्रीय बैंकले १ करोड ५० लाख १२ हजार रुपैयाँ लागतमा भल्ट र सोसँग सम्बन्धि सेक्युरिटी सिस्टम निर्माण गर्ने जिम्मेवारी दिएको हो ।

भल्ट र त्यसको सेक्युरिटी बनाउने ठेक्का पाएको बतास ट्र्याक्टर्स बतास अर्गनाइजेसन अन्तगर्तको एक कम्पनी हो । बतासले नयाँ भवनको भल्ट र सोसँग सम्बन्धित सेक्युरिटी सिस्टममात्र बनाउने छैन, हेभी ड्युटी र्‍याकिङको तालीम पनि दिनेछ ।

भल्ट र सेक्युरिटी सिस्टमको आपूर्ति, डेलिभरी, इन्स्टलेसन, टेस्टिङ, सञ्चालन सुरुवात र तालीमको यो ठेक्काका लागि बतास ट्र्याक्टर्सले न्यूनतम बोककबोल गरेको राष्ट्र बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले जनाएको छ ।

बतास ट्रयाक्टर्स चर्चित व्यवसायी घराना बतास अर्गनाइजेसनको हो । कम्पनीले गोदरेजको सामाग्री नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थामा गोदरेजकै दराज र भल्ट प्रयोग भइरहेको छ । सन् २०१६ मा स्थापित बतास ट्रयाक्टर्स नेपालका लागि क्याटर पिलर कन्स्ट्रक्सन इक्विपमेन्ट र गोदरेजको आधिकारिक विक्रेता हो ।

कम्पनीमा ६१ प्रतिशत स्वामित्व आनन्दराज बतास र शान्तराज बतासको छ ।


क्लिकमान्डु