आइएमईको सिईओ बनेपछि पौडेल भन्छन्: डिजिटल रुपान्तरणले रेमिटेन्स सेवालाई थप चुस्त र सुलभ बनाउँछु



काठमाडौं । आइएमई लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले कार्यभार सम्हालेका छन् । आइएमई र जीएमई रेमिट एक भई एकीकृत कारोबार सुरु भएसँगै पौडेलले कार्यभार सम्हालेका हुन् ।

जीएमई रेमिटको स्थापनादेखि नै प्रमुख कार्यकारी अधिकृत रहेका पौडेलको रेमिटेन्स क्षेत्रमा २५ वर्षको अनुभव छ । आइएमईको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै पौडेलले प्रतिस्पर्धी बजारमा अझै स्तरीय तथा विस्तारित रेमिटेन्स सेवा प्रदान गर्न थप योगदान दिने बताए । यसै गरी समग्र रेमिटेन्स सेवालाई थप सरल, सहज एवम् थप प्रविधियुक्त बनाउँदै डिजिटल रुपान्तरणलाइ थप तीव्रता दिने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरे ।

डिजिटल रेमिटेन्सको अवधारणालाई मुख्य प्राथमिकतामा राखेको र डिजिटल रेमिटेन्स तर्फको रुपान्तरणले आइएमईको सेवालाई थप चुस्त र सुलभ बनाउने पनि पौडेलले प्रतिबद्धता गरे ।

‘रेमिटेन्स कम्पनीहरूको कार्यक्षेत्र विस्तारमा पहल गर्ने तथा रेमिटेन्स रकमलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गरी राष्ट्रिय आम्दानी बढाउँदै रोजगारी सृजनामा योगदानका लागि तत्पर छु,’ प्रमुख कार्यकारी अधिकृत पौडेलले भने ।

यसअघि बुधबार आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुरु भएको थियो ।


क्लिकमान्डु