मत्थर भयो गठ्ठाघरको तनाब, प्लास्टिकमा उठाएर लग्यो प्रहरीले शव



काठमाडौं । ट्रकले स्कुटरलाई ठक्कर दिएर महिलाको मृत्यु भएपछि तनाबग्रस्त बनेको भक्तपुरको गठ्ठाघरमा अहिले अवस्था मत्थर बनेको छ ।

बिहीबार दिउँसो सडकमा रोकिरहेको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएर महिलाको मृत्यु भएपछि स्थानीयहरु आन्दोलित बनेका थिए ।

आन्दोलित बनेका स्थानीयहरुले महिलाको शव उठाउन दिएका थिएनन् । साथै प्रहरी र स्थानीयबीच निकै बेरसम्म झडप भएको थियो । स्थानीयहरु आन्दोलित बनेपछि नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास नै प्रहार गर्नु परेको थियो ।

दुर्घटनापछि झडपका कारण कोटेश्वरदेखि सूर्यविनायकसम्मको सवारी आवागमन प्रभावित बनेको थियो । झडपले गर्दा अरनिको राजमार्गमा दिनभर व्यापक सवारी जाम थियो ।

साथै प्रहरी र स्थानीयबीच कुटाकुट समेत भएको थियो । पीडितलाई क्षतिपुर्ति दिने सहमति भएपछि स्थानीयहरुले आन्दोलन रोकेर अहिले अवस्था सामान्य भएको बताइएको छ । अवस्था सामान्य बनेपछि प्रहरीले शव उठाएको छ ।

रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि ट्रकले करिब सय मिटरसम्म घिसारेको स्थानीयहरुको भनाइ छ । ट्रकले घिसार्दा शरीरका अंगहरु क्षतविक्षत भएको र ट्रकमुनि शरीरका अंगहरु छरपस्ट बनेका तस्बिर समेत सार्वजनिक भएका छन् ।

बिहीबार साँझसम्म अवस्था सामान्य बनेको बताइएको छ । स्कुटरलाई ठक्कर दिने ट्रकलाई पनि नियन्त्रणमा लिएको छ । अहिले गठ्ठाघरमा सवारी साधनको आवतजावत नियमित रुपमा हुन थालेको छ ।


क्लिकमान्डु