स्वदेशी र विदेशी पर्यटकको हवाई भाडादरमा एकरुपता ल्याइँदै



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वदेशी र विदेशी पर्यटकका लागि हवाई भाडादरमा एकरुपता कायम गर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले यस विषयलाई उच्च प्राथमिकता दिएर छलफल गरिरहेको पनि जानकारी दिए । हवाई टिकट मूल्यमा एकरुपता ल्याउन सकारात्मक निर्णय हुने मन्त्री पाण्डेको भनाइ थियो । पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको भन्दै उनले पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको बताए ।

सातवटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम ‘इको हिल टुरिजम’ लगायतका कार्यक्रमहरु यस वर्षको बजेटमा समावेश गरिएको स्मरण गराउँदै मन्त्री पाण्डेले भारत र चीनका पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायत प्रचारप्रसार कार्यक्रमहरु कार्यान्वयन गरिएको बताए ।

उनले नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको र होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अघि बढाइएको पनि बताए ।

‘पर्यटन क्षेत्रका लागि बजेट अझै पर्याप्त हुन नसकेको वस्तुतथ्य हाम्रा अगाडि छ । पर्यटक रणनीति योजना सन् २०१६ देखि २०२५ र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याइ यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सात वटै प्रदेश लक्षित गरेर सात प्रदेश, सात गन्तव्य कार्यक्रम इको हिल टुरिजम लगायतका कार्यक्रमहरु यस वर्षको बजेटमा समावेश गरिएको छ । भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रमहरु कार्यान्वयन गरिएको छ,’ मन्त्री पाण्डेले भने ।

नेपाल पर्यटन बोर्डबाट सय वटा पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन विभागबाट ती गन्तव्यहरुमा पूर्वाधार निर्माणको कार्य भइरहेको पनि उनले जानकारी दिए । यस्तै पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिइएको पनि उनको भनाइ थियो ।

‘आन्तरिक हवाई भाडादरमा एकरुपता कायम गर्ने विषय महत्वपूर्ण विषय हो । यो विषयलाई प्राथमिकतामा राखि छलफल अघि बढाइसकेको छ । यो विषयमा स्वदेशी र विदेशी पर्यटक जो हवाई यात्रा गर्नुहुन्छ, टिकटमा मूल्यका निम्ति छलफल जारी रहेको र यसको सकारात्मक निर्णय आउनेछ,’ मन्त्री पाण्डेले भने ।


क्लिकमान्डु