सार्वजनिक सवारीमा जीपीएसदेखि दुई चालक राख्‍नुपर्ने, यस्ता छन् १२ मापदण्ड



सिमलतल दुर्घटना छानबिन समितिले दिएको सुझावका आधारमा सरकारले सवारी साधनको गति नियन्त्रण गर्न उपकरण जडान गर्नुपर्ने, जीपीएस ट्रयाकिङ जडान, तेस्रो पक्ष बिमा, दुई जना चालक राख्नुपर्ने लगायत १२ मापदण्ड तोकेको छ ।

काठमाडौं । बढ्दो सवारी दुर्घटनालाई न्युनीकरण गर्न सरकारले यातायात व्यवसायीलाई विभिन्न १२ वटा मापदण्ड पालना गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयले बुधबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई पत्राचार गर्दै १२ बुँदे शर्त तत्कालै कार्यान्वनयमा ल्याउन निर्देशन दिएको हो ।

सिमलताल बस दुर्घटनाको विषयमा सरकारले गठन गरेको छानबिन समितिले दुर्घटना न्युनीकरण गर्न दिएको सुझावलाई कार्यान्वनयमा ल्याउन मन्त्रालयले महासंघलाई शर्त तोकेको हो ।

जसअनुसार सवारी साधनको तीव्र गतिलाई नियन्त्रणमा लिन सबै सार्वजनिक सवारी साधनमा गति नियन्त्रण गर्ने उपकरण जडान गर्न मन्त्रालयले निर्देशन दिएको छ । सवारी साधनमा जीपीएस ट्रयाकिङ्ग उपकरण जडान गर्न पनि सरकारले निर्देशन दिएको छ ।

यस्तै सार्वजनिक सवारी साधनमा यात्रा गर्ने सम्पूर्ण यात्रुको टिकट काटेर मात्रै यात्रा गराउन पनि सरकारले निर्देशन दिएको छ । अनलाइन टिकट प्रणालीको विकास गरी कार्यान्वयनमा ल्याउन र यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्रै यात्रा गर्ने बिषयलाई व्यवहारमा ल्याउन सरकारले निर्देशन दिएको छ ।

यस्तै सार्वजनिक सवारी साधनमा अनिवार्य रुपमा सीसीटीभी र ट्रान्सपोण्डर उपकरण पनि जडान गर्न सरकारले निर्देशन दिएको छ । चालक तथा सहचालकसँग अनिवार्य रुपमा रोजगार सम्झौता गर्नुपर्ने र उनीहरुलाई न्यूनतम तलब ज्याला उपलब्ध गराउनुका साथै सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्न पनि सरकारले महासंघलाई निर्देशन दिएको छ ।

चालक, सहचालकलगायत सवारी साधनका स्टाफले यात्रुसँग शिष्ट, सभ्य र यात्रुमैत्री व्यवहार गर्नुपर्ने र त्यसका लागि यातायात मजदूरलाई नियमित रुपमा प्रशिक्षणसमेत उपलब्ध गराउनुपर्ने सरकारले निर्देशन दिएको छ ।

चालकलाई सुरक्षित ड्राइभिङ, ट्राफिक नियमको पालनासम्बन्धी नियमित रुपमा तालिम उपलब्ध गराउनुका साथै मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन कठोर निगरानी गर्न पनि सरकारले कडा निर्देशन दिएको छ ।

लामो दूरीमा सञ्चालनमा हुने यात्रुबाहक सार्वजनिक सवारीमा कम्तीमा दुई जना चालक राख्नुपर्ने र यातायात व्यवसायी र मजदुरको हकमा आचारसंहिता बनाएर कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिइएको छ ।

टिकट काउन्टरमा बस्ने कर्मचारी, चालक तथा सहचालकले अनिवार्य रुपमा पोशाक र परिचयपत्र लगाउनुपर्ने निर्देशन पनि सरकारले दिएको छ ।

यसका साथै मुलुकभर सञ्चालन हुने सार्वजनिक सवारी साधनको तेश्रो पक्ष बिमा अनिवार्य गर्नुका साथै सवारी साधनको नियमित मर्मत सम्भार, जाँच र पुराना तथा असुरक्षित सवारी साधनलाइ प्रयोगबाट हटाउन पनि सरकारले महासंघलाई निर्देशन दिएको छ ।

गत असार २८ गते नारायणगढ-मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको सिमलतालमा दुईवटा बसलाई पहिरोले बगाउँदा दर्जनौं यात्रुसहित दुबै बस बेपत्ता भएका थिए । उक्त दुर्घटनापछि सरकारले छानबिन समिति बनाएको थियो ।


क्लिकमान्डु