छिमेकी मुलुकमा नदेखिएका गाडीहरु पनि नाडा अटो शोमा देख्न पाइन्छ: अध्यक्ष चौधरी



अटो व्यवसायीहरुको महाकुम्भ मेला ‘नाडा अटो शो-२०२४’ भदौ ११ गतेदेखि काठमाडौंमा सुरु हुँदैछ । यो वर्षको अटो शोमा २४ वटा चारपाङ्ग्रे , १९ वटा दुईपाङ्ग्रे, १२ हल्का व्यवसायिक सवारीसाधन, लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य कम्पोनेन्टसहित १३० वटा स्टलहरु रहनेछन् । केहि बाहेक सबै जसो स्टल विद्युतीय सवारीसाधन (ईभी)ले स्टलहरु बुकिङ गरेका छन् । अर्थतन्त्रमा आएको संकुचन र युवाहरु विदेशिने क्रम बढेका कारण अटो बजार थलिएको व्यवसायीहरुको भनाइ छ । उनीहरुका अनुसार ईभीबाहेकका चार पाङ्ग्रे सवारीसाधनको बिक्री नै छैन । कर्मसियल भेहिकलको बजार ७० प्रतिशतले झरेको छ । दुईपाङ्ग्रे सवारीसाधनका ग्राहक खोजेर हिड्नुपर्ने अवस्था छ । सरकारले करमा सहुलियत दिएका कारण ईभी मात्रै बेच्ने केहि कम्पनी भने फष्टाएका छन् । नाडा अटो शो-२०२४ का सन्दर्भमा नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करणकुमार चौधरीसँग क्लिकमान्डुका दिनेश खड्काले गरेको कुराकानी-

भदौ ११ गतेदेखि अटो व्यवसायीहरुको महाकुम्भ मेला ‘नाडा अटो शो-२०२४’ सुरु हुँदैछ । तयारी सकियो ?

तयारी भरपुर रुपमा गरिरहेका छौं । यो पटकको नाडा अटो शो भव्य होस् भनेर काम गरिरहेका छौं । अटो सेक्टरलाई सरकारलाई चिनाउन सुदृढ भएर लागिरहेका छौं ।

नाडाले हरेक वर्ष अटो शो गर्दै आएको छ । विगतको भन्दा यो पटकको अटो शोमा के फरक हुन्छ ?

योपालीको अटो शो हाम्रो जीविकाको सवाल छ । त्यहि भएर हामी सुदृढ भएर अघि बढेका छौं । अटो मोबाइलले समस्या नै समस्या खेपिरहेको छ । सरकारको समृद्ध नेपाल सुखी नेपाली बनाउने योजना छ । अटो मोबाइल सेक्टरलाई पनि समृद्ध बनाउन सकियो भने योभन्दा खुसीको कुरा केहि हुँदैन ।

पहिलोपल्ट नाडाले विदेशी अटो व्यवसायीहरुलाई पनि निम्ता दिएको छ । कुन कुन देशबाट व्यवसायीहरु आउँदैछन्

यसपटक देश, विदेशका अरु संगठनहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने आशा थियो । अहिले सियामले कन्फर्म गरेको छ । अरुसँग कुरा भइरहेको छ ।

व्यवसायीहरु अटो व्यवसाय थलिएको छ भन्छन् । नेपाली अटो बजारको वास्तविक धरातल कस्तो छ ?

मैले पनि साच्चै नेपाली अटो व्यवसायको धरातल कहाँ छ भनेर सोच्न सकेको छैन । योभन्दा तल जान सकिँदैन भनेर सोच्नासाथै अर्को सरकारको नीति आउँछ । झन् तल झर्छ । अटो मोबाइल क्षेत्रमा जति जना हुनुहन्छ उहाँहरुले अडिएर बस्नु भएको छ । त्यो अडानमा धेरे कुर्न पर्दैन । अब अटो मोबाइल क्षेत्र उकासिएर माथि जान्छ भन्ने आशा छ ।

तपाईं ईभी कर बढाउने र आइसीको घटाउने अभियानमा लाग्नु भएको छ भन्ने सुनिन्छ । तपाईंले सबै आईसीका सवारीसाधन मात्रै बेच्नु भएकाले यस्तो अभियानमा लागिरहनु भएको भन्ने आरोप छ नी ?

तपाईंले सोच्नु भएको स्वभाविक, म यसलाई अस्वभाविक भन्दिन । मैले कुनै पनि ठाउँमा यो आरोपलाई पुष्टी हुने काम गरेको छैन् । यदि त्यस्तो काम गरेको भए यहाँले मलाई सचेत गराए भइहाल्छ ।

विगतमा अत्याधिक रुचाईएको गाडीमा सुजुकी मारुती र हुण्डाई थियो । हुण्डाईले एसेम्बल प्लान्ट लगाइसकेको छ । तपाईंहरु किन चुपचाप बसिरहनु भएको ?

हामीले यो चिजमा वर्किङ गरिरहेका छौं । हामीले वर्किङ गरिसकेका छौं । सरकारको स्थीर नीति हुने नीति ल्याउने बित्तिकै हामी एसेम्बल प्लान्ट लगाउँछौं । स्थीर नीति नभएसम्म एसेम्बल प्लान्ट लगाउन सकिँदैन् । ‍तयारी धैरै पहिलेदेखि गरिरहेका थियौं । स्थीर नीति होस् भन्ने हाम्रो आशा हो ।

तपाईं पनि ईभी ल्याउन लागिरहनु भएको छ भन्ने सुनिन्छ नी ?

सुजुकीको अवश्य पनि ईभी आउँदैछ । आएपछि तपाईंहरुले थाहा पाइहाल्नु हुनेछ ।

विदेशमा गाडीलाई आधारभूत आवश्यकता रुपमा लिइन्छ । हामी कहाँ यसलाई लक्जरीका रुपमा हेरिन्छ नी?

यो पटकको नाडा अटो शो मार्फत मैले सरकारलाई अटो मोबाइल क्षेत्रको परिचय गराउनुपर्नेछ । अटो क्षेत्र लक्जरी होइन,यो त अर्थतन्त्रको मेरुदण्ड हो भनेर बुझाउनुपर्नेछ ।

तपाईंको आफ्नो कम्पनी व्यापार कस्तो छ ?

कम्पनीको कुरा अरु दिन गरौंला ।

दुईपाङ्ग्रे सवारीसाधन बेच्न ग्राहक खोज्नु परेको गुनाँसो अटो व्यवसायीहरुको छ । अवस्था यस्तै हो ?

दुईपाङ्ग्रे सवारीसाधनको ग्राहक खोजेर हिँड्नुपरेको छ । खोज्नु परेको दुई कारण हुन सक्छन् । कि उहाँहरु पलाएन भएको हो । कि उहाँहरुको अपेक्षा बढेको हो । अपेक्षा बढेको हो भने त हामी खुसी छौं । पलाएन भएको हो भने यो जस्तो हाम्रा लागि दु:खको विषय केहि होइन ।

ईभीको मापदण्ड नहुँदा जथाभावी ब्राण्डका गाडीहरु आयात भइरहेका छन् । यसले दिर्घकालमा ठूलो प्रभाव पार्ने देखिन्छ । मुलुक डम्पिङ साईट हुने खतरा छ । यसलाई कसरी हेर्नु भएको छ ?

मापदण्ड बनाउने निमायक निकायले हो । मापदण्ड हरेक चीजका लागि आवश्यक छ । ईभीका लागि पनि मापदण्ड आवश्यक छ । व्यक्ति फोकस नभएर देशलाई फोकस गरेर मापदण्ड बनाउनुपर्छ । हामीले जेजे सुझाव दिएका छौं । देशलाई वेस गरेर दिएका छौं ।

ब्याट्रीको व्यवस्थापन अहिले पेचिलो विषय बनेको छ । राज्यले एक खालको नीति बनाएको छ । यसमा व्यवसायीहरुले कसरी काम गरिरहेका छन् ?

नाडाले सुझाव पेस गरेको छ । हामीले सल्लाह सुझाव दिएका छौं । यहि गर्नुस भनेर हामीले भन्न सकेका छैनौं । वन तथा वातावरण मन्त्रालयलाई हामी सुझाव दिनेछौं । ईभीको ब्याट्री व्यवस्थापनको काम हुन्छ । त्यो गर्नुपर्छ ।

नाडा अटो शो हेर्न आउनेले नयाँ के के देख्न पाउँछन् ?

धेरै कुराहरु देख्न पाउँनेछन् । छिमेकी मुलुकमा नदेखिएका गाडीहरु पनि यो पटकको नाडा अटो शोमा देख्न पाइनेछ । छिमेकी मुलुकमा आयात नभएका गाडीहरु समेत प्रदर्शनीमा हुनेछन् । ब्राण्ड र नाम अहिले पर्दा पछाडी नै राखौं । अवलोकन गर्नेहरुले भदौ ११ गते देख्न पाउँनेछन् ।


क्लिकमान्डु