एफएमसीजी वितरक लाइफ केयरको व्यापारमा गिरावट, १ अर्ब ६० लाखको कारोबार



काठमाडौं । एफएमसीजी (छिटो छरितो उपभोग्य सामान) उत्पादनहरूको बिक्री वितरणमा संलग्न लाइफ केयर डिस्टिब्युटर्सको व्यापारमा भारी गिरावट आएको छ ।

जमुना अग्रवाल र सौरभ गर्गको व्यवस्थापन रहेको कम्पनीको गत वर्षको व्यापार अघिल्लो वर्षको तुलनामा आधाभन्दा धेरैले घटेको हो । सन् २०२१ यता यो कम्पनीको व्यापार निरन्तर ‌ओरालो लागिरहेको छ । र गत वर्षको व्यापारमा यो कम्पनीले ५६ प्रतिशतको गिरावट भोगेको छ ।

सन् २०२३ मा कम्पनीले १ अर्ब ६० लाख रुपैयाँको व्यापार गरेको छ । त्यसअघि सन् २०२२ मा कम्पनीको व्यापार २ अर्ब १२ करोड ७० लाख रुपैयाँको थियो । सन् २०२१ मा भने कम्पनीको व्यापार ४ अर्ब ३० लाख रुपैयाँ रहेको थियो । सन् २०२१ यता लाइफ केयर डिस्टिब्युटर्सको व्यापार आधाले घट्दै आएको छ ।

कम्पनीको व्यापारमा गिरावट आइरहँदा मार्जिनमा भने केही राहत मिलेको छ । सन् २०२१ मा ६.५२ प्रतिशत रहेको कम्पनीको मार्जिन सन् २०२२ मा घटेर ४.३१ भएको थियो । गत वर्ष सन् २०२३ मा भने यसमा केही वृद्धि भएर ५.०७ प्रतिशतको मार्जिन कायम भएको छ ।

सन् २०११ मा सुरु भएको यो कम्पनी विश्वका ६ एफएमसीजी कम्पनीहरूले उत्पादन गर्ने सयभन्दा धेरै प्रकारका सामग्रीहरूको नेपालमा आधिकारिक वितरणकर्ता हो । कतिपय सामग्रीका लागि भने यो कम्पनी नै एकमात्र वितरणकर्ता समेत रहेको छ । यद्यपि यो कम्पनीले वितरण गर्दै आएको भारतीय कम्पनी मोन्डेलेज इन्डिया फुड्ससँगको सम्झौता सन‍ २०२१ को डिसेम्बरबाट सकिएपछि कम्पनीको व्यापारमा कमी आएको हो ।

हाल भने कम्पनीको कर्जा सुविधाको क्षमतालाई रेटिङ एजेन्सीले घटाएको छ । ९५ करोडको कर्जा क्षमता यसअघि कायम भएकोमा हालका लागि त्यसलाई घटाएर ९० करोडको अल्पकालीन कर्जा सुविधाका लागि रेटिङ दिएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई ‘ए फो’ रेटिङ दिएको हो ।


क्लिकमान्डु