देश छाडेर भागेकी शेख हसिनाविरुद्ध हत्या मुद्दामा अनुसन्धान सुरु



एजेन्सी । बंगलादेशमा एक महिनासम्म देशव्यापी प्रदर्शनको क्रममा प्रहरीले एक व्यक्तिको हत्या गरेको घटनालाई लिएर बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अनुसन्धान सुरु गरिएको छ । उक्त घटनामा तत्कालीन सरकारका अरु ६ जना उच्च अधिकारीहरुमाथि अनुसन्धान सुरु गरिएको छ ।

पीडित नागरिकको तर्फबाट मुद्दा हेरेका वकिल मामुन मियाले ढाका अदालतले प्रहरीलाई हसिनासहितका आरोपितहरुविरुद्ध हत्या मुद्दामा अनुसन्धान गर्न अनुमति दिएको बताएका छन् । बंगलादेशको संविधान अनुसार अपराध अनुसन्धानमा यो पहिलो अनुसन्धान भएको पनि बताइएको छ ।

बंगलादेशमा एक महिनासम्म चलेको विद्यार्थी आन्दोलनको क्रममा शेख हसिनाको कठोर शासनकाल थियो । आन्दोलनको क्रममा ४ सयभन्दा धेरै प्रदर्शनकारी मारिएका थिए । मृत्यु हुनेमध्ये अधिकांश घटनामा हसिनाको निर्देशनमा प्रहरीले गोली चलाएको पनि बताइएको छ ।

किराना पसले अबु सइदले सडक पार गर्ने क्रममा प्रहरीले टाउकोमा गोली प्रहार गरेपछि उनको मृत्यु भएको थियो । उक्त घटनालई लिएर व्यवसायी अमिर हम्जाले गत जुलाइमा हत्याको मुद्दामा निवेदन दिएका थिए ।

बंगलादेशमा असमान रुपमा आरक्षण दिइएको भन्दै त्यसविरुद्ध एक महिनाअघि देखि नै विद्यार्थीहरुले देशव्यापी रुपमा आन्दोलन सुरु गरेका थिए । तर शेख हसिनाको सरकारले प्रदर्शनलाई कठोर रुपमा दबाउने काम गरेको थियो ।

वार्ता गर्नुको सट्टा प्रहरीले चरम दमन गर्न थालेपछि प्रदर्शन थप चर्किएको थियो । फलस्वरुप अगस्ट ५ मा शेख हसिना देश छाडेर भारतको शरण लिन बाध्य भएकी थिइन् ।

हसिना सरकारले १५ वर्षसम्म शासन चलाउँदा बंगलादेशमा भ्रष्टाचार बढाएको र मानवअधिकार हनन गरेको आलोचनाको सामना गर्दै आएको थियो । पछिल्लो प्रदर्शनको क्रममा हसिना सरकारले प्रदर्शनकारीहरुमाथि चरम रुपमा दमन गरेपछि हसिना थप आलोचित बनेकी हुन् ।

यतिबेला हसिना भारतको शरण लिएर बसिरहेकी छन् । यद्यपि केही दिनअघि उनले आफू छिट्टै स्वदेश फर्किने अभिव्यक्ति दिएकी थिइन् । बंगलादेशमा भने नोबेल पुरस्कार विजेतासमेत रहेका अर्थशास्त्री मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।


क्लिकमान्डु