सानै प्रयासले चीन र बंगलादेशमा दुग्धजन्य पदार्थ निर्यात गर्न सकिन्छ : गगन थापा



‘हाम्रो लागि बंगलादेश र चीन ठूलो बजार हो । कृषि र उद्योगमन्त्री एकछिन मात्रै बस्नुभयो भने यो समस्या समाधान हुन्छ । थोरै मिहेनत गरेको आधारमा हामी बढी भएको दुग्धजन्य पदार्थ बंगलादेश र चीनमा निर्यात गर्न सक्छौं ।’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले सरकारको सानो प्रयासबाटै बंगलादेश र चीनमा दुग्धजन्य पदार्थ निर्यात गर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै सांसद थापाले कृषिमन्त्री र उद्योगमन्त्रीको सानो प्रयासको आधारमा ती दुवै मुलुकमा नेपालमा खपतभन्दा बढी दुग्धजन्य पदार्थ निर्यात गर्न सकिने बताए ।

सरकारले ठूलठूला काम गर्छु भनेर हल्ला गर्नुको साटो ससाना तर महत्वपूर्ण कामबाट सुरुआत गर्दा प्रतिफल साकारात्मक आउने भन्दै थापाले दुग्धजन्य पदार्थको लागि बंगलादेश र चीन ठूलो बजार भएको बताए ।

‘धेरै ठूलो काम गर्छु भन्नुभन्दा हेर्दा सानो देखिने तर निकै महत्वपूर्ण कामलाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘अहिले खपतभन्दा बढी दूध र दुग्धजन्य पदार्थ थन्किएको छ । यसैले किसानलाई भुक्तानी दिन सकिएको छैन ।’

कृषिमन्त्री र उद्योगमन्त्री संयुक्त रुपमा एक क्षण मात्रै बस्दा यो समस्या समाधान हुने पनि उनले सुझाव दिएका थिए । सांसद थापाले भने, ‘हाम्रो लागि बंगलादेश र चीन ठूलो बजार हो । दुवै जना मन्त्री एक क्षण मात्रै बस्नुभयो भने यो समस्या समाधान हुन्छ । थोरै मिहेनत गरेको आधारमा हामी बढी भएको दुग्धजन्य पदार्थ बंगलादेश र चीनमा निर्यात गर्न सक्छौं ।’

उनका अनुसार नेपालका निजी क्षेत्रका व्यवसायीहरुले नेपालमा खपत भएकोभन्दा बढी दुग्धज्य पदार्थ बंगलादेश र श्रीलंकामा निर्यात गर्न सकिने निष्कर्ष निकाल्दै अध्ययन गरिसकेका छन् । यही विषयमा क्लिकमान्डुले यसअघि गत वर्षको माघमा समाचार प्रकाशन गरिसकेको थियो ।

तर सरकारले सानो प्रयास नगरिदिँदा खपतभन्दा बढी दूध र दुग्धजन्य पदार्थले बजार नपाएको साथै किसानको अर्बौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको पनि उनले स्मरण गराए ।

‘केही गर्नु नै पर्दैन । कृषि र उद्योगमन्त्री थोरै बसेर नीतिगत व्यवस्था गरिदिए एकछिनमै समस्या समाधान हुन्छ, गाईभैँसीमा लाग्ने फुट एण्ड माउथ सम्बन्धी रोगसमस्या समाधान गरिदिनुपर्छ र निर्यातको लागि नीतिगत व्यवस्था गरिदिनुपर्छ । इच्छाशक्ति र नियत सफा भयो भने यो तत्कालै समाधान हुने विषय हो ।’


क्लिकमान्डु